तपाईँ सुन्दै हुनुहुन्छः

घुस लिएको अभियोगमा गोकर्णेश्वरबाट तीन जनालाई पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा काठमाडौँको गोकर्णेश्वरबाट तीनजनालाई आज पक्राउ गरेको छ । 

गोकर्णेश्वर नगरपालिका वडा नं.३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहनप्रसाद कुइँकेल र बालुवा डिपो सञ्चालक सुसान्त कुइकेललाई घुस रकमसहित पक्राउ गरेको आयोगले जनाएको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार, गोकर्णेश्वर न.पा.बाट मर्मत तथा निर्माणको काम लिई ठेक्कामा लगाएपश्चात् सेवाग्राहीबाट बाटो स्तरोन्नति योजनाको निर्माण कार्य सम्पन्न भई उपभोक्ता समितिमार्फत भुक्तानी हुन बाँकी रकम भुक्तानी दिने क्रममा घुस लिएकाले पक्राउ गरिएको हो । 

सेवाग्राहीबाट एक लाख रुपियाँ घुस र रिसवत लिइसकेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ । 

साथै उक्त रकमसहित ३० हजार रुपियाँको चेक पनि प्राप्त भएको अख्तियारले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button