वीरगञ्ज महानगरपालिकामा व्यवसाय दर्ता गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा व्यवसाय दर्ता गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
विना दर्ता व्यवसाय सञ्चालनमा कडाइ गरेपछि दर्ता गर्नेको सङ्ख्या वृद्धि भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताउनुभयो । व्यवसाय दर्ता महानगरका लागि दिगो आयस्रोत भएको र यसले राष्ट्रिय राजश्वमा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले जुनसुकै व्यवसाय सञ्चालन गर्न महानगरमा दर्ता अनिवार्य गरिएको उहाँले बताउनुभयो ।

गएको आर्थिक वर्ष २०७५÷०७६ मा ४ हजार ३ सय ७७ व्यवसाय दर्ता भएकोमा चालु आर्थिक वर्ष २०७९÷०८० को वैशाख १५ सम्म आइपुग्दा त्यो सङ्ख्या ५० प्रतिशतले बढेर ६ हजार ५ सय ८३ पुगेको महानगरको तथ्याङ्कले देखाएको छ । पछिल्लो ४ वर्षमा व्यवसाय गर्नेको सङ्ख्या २ हजार २ सय ६ ले थपिएको छ । व्यवसाय दर्तालाई प्रभावकारी बनाउन महानगरपालिकाले छुट्टै टोली नै परिचालन गरेको छ । स्थलगत रूपमै पुगेको टोलीले उद्योग तथा पसलमै पुगेर व्यवसाय नवीकरण तथा नयाँ दर्ता गर्ने गरेको छ ।
व्यवसाय दर्ताको सङ्ख्या बढेसँगै राजश्व संलकनमा समेत वृद्धि भएको छ । गत आर्थिक वर्षमा १ करोड ८४ लाख रुपैयाँ राजश्व सङ्कलन भएकोमा चालु आर्थिक वर्षको वैशाख १५ गतेसम्ममा २ करोड १४ लाख रुपैयाँ सङ्कलन भइसकेको महानगरका राजश्व शाखा प्रमुख मनोज कुमार कर्णले जानकारी दिनुभयो । यसमा व्यवसाय करको हिस्सा औसतमा ५ प्रतिशत भन्दा बढी रहेको पनि उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्