तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीलाई विश्वासको मत प्राप्त

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । 

आज बसेको प्रदेशसभाको पहिलो अधिवेशन अन्तर्गत दशौँ बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

आज बसेको प्रदेशसभामा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत परेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गर्नुभएको थियो ।

नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम मुख्यमन्त्रीले प्रदेशसभामा विश्वास मतको प्रस्ताव राख्दा उहाँको पक्षमा ५३ मत परेको छ ।  यस्तै, विश्वासको मतको विपक्षमा २९ र चार जना तटस्थ रहेका छन् । 

प्रदेशसभामा रहेका १० दलमध्ये विश्वासको मतको पक्षमा आठ दलका ५२ जना र एक स्वतन्त्र सांसद गरी ५३ जनाले मतदान गरेका छन् । 

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका नौ, नागरिक उन्मुक्ति पार्टीको चार, जसपा, लोसपा र जनमतका तीन÷तीन, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा एक÷एक र एक स्वतन्त्र सांसदसहित ५३ जनाले मतदान गरेका थिए ।

यस्तै विपक्षमा नेकपा एमालेका २९ र राप्रपाका चार गरी ३३ जना रहेका छन् । 

प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री चौधरीले प्रदेशका जनताको आर्थिक समृद्धिका लागि प्रतिपक्षसँग पनि सहकार्य गरिने बताउनुभयो । उहाँले प्रदेशका जनतालाई आशा र विश्वास दिलाउने गरी काम गर्ने र प्रदेशको अधिकार प्राप्तिका  लागि विपक्षी दललाई सँगै हिँड्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त चौधरीले विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने तयारीमा हुनुहुन्छ । 

यही वैशाख १५ गते मुख्यमन्त्री चौधरीसँगै शपथ लिएका तीनजना मन्त्रीको अहिलेसम्म विभागीय जिम्मेवारी तोकिएको छैन । 

माओवादी केन्द्रबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुिक्त पार्टीका धर्मबहादुर चौधरी बिना विभागीय मन्त्री रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button