तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा प्रहरीको अफिम अप्रेसन, जग्गा र जङ्गलमा लगाइएको लाखौँ बिरुवा नष्ट 

रोल्पा । रोल्पा प्रहरीले जिल्लाको विभिन्न गाउँ, नगर तथा जङ्गलहरूमा अफिम अप्रेसन सुरु गरेको छ ।

सदरमुकाम लिवाङदेखि पूर्वी भू–भागहुँदै उत्तर र पश्चिमका थबाङ, परिवर्तन, सुनछहरी गाउँपालिकामा लुकिछिपी अफिम खेती हुने गरेको छ । प्रहरीले विगतका वर्षहरुमा  पनि अफिम अप्रेसन गरी ठुलो परिणाममा अफिम खेती नष्ट गरेको थियो । 

यो वर्ष पनि अफिम  अप्रेसन जारी राख्दै प्रहरी गाँउगाँउमा परिचालित भएको हो । 

यसबीच प्रहरीले पाँचदिन लगाएर थवाङ गाउँपालिकामा पर्ने उवाको जङ्गलमा लगाइएको अफिम खेती नष्ट गरेको छ । प्रहरीले पाँच दिनमा थवाङ क्षेत्रका विभिन्न भू–भागमा गरी ३ सय २० रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको हो । 

प्रहरीले थवाङको जुत्तर र भङरङ गाउँमा ३० रोपनी र  तेल खोला तल्लो र माथिल्लो क्षेत्र आसपासमा २ सय ५० रोपनी,  ठुलो गाउँ र बान्नेखर्कमा ४० रोपनी गरी जम्मा ३ सय २० रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको हो ।  

केही दीन अघि मात्र परिवर्तन गाउँपालिकाको खोला गाउँ, तारल, बसुन्धरामा २० रोपनी साथै जैरेनी, तातोपानी बजेनी जङ्गलको बीचभागमा ८ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको थियो । 

थवाङ र परिवर्तन गाउँपालिकामा गरी करिब ३ सय ४८ रोपनी क्षेत्रफलमा लगाइएको लाखौँ लागुऔषध अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो । ती स्थानहरूमा लगाइएको लागूपदार्थ अफिम नष्ट गर्न जिल्ला प्रहरी कार्यालय रोल्पाबाट एक सय जति प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रोल्पा प्रमुख प्रहरी नायव उपरीक्षक श्याम कुमार शारुका अनुसार लागु औषध अफिम खेती गर्ने व्यक्ति तथा सम्बन्धित जमिनको  जग्गाधनीको नाम खुल्न नसकेकाले अहिले  अनुसन्धान भइरहेको छ । 

अनुसन्धान पश्चात् पहिचान  खुली आएमा लागू औषध नियन्त्रण ऐन २०३३ को दफा १४ अनुसार अफिमको अवैध खेती गरेको पाइएमा  २५ बोटसम्म खेती गर्नेलाई एक वर्षदेखि ३ वर्षसम्म कैद र पाँच हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना तथा २५ बोट भन्दा माथि खेती गर्नेलाई ३ वर्षदेखि १० वर्षसम्म कैद र पच्चीस हजारदेखि २ लाखसम्म जरिवाना गर्ने कानूनी व्यवस्था रहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button