इमानदारीपूर्वक जिम्मेवारी पुरा गरौँ : काँग्रेस महामन्त्री थापा
भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकले पार्टीको भविष्यबारे चिन्ता गर्ने भन्दा पाएको जिम्मा इमानदारीपूर्वक पुरा गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस भक्तपुरको सातौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले आम निर्वाचन आउन बाँकी ४ वर्षमा काँग्रेसले पाएका केन्द्रीय मन्त्रालय, प्रदेश सरकार र जितेका पालिका तथा वडामा परिणाम आउने गरी काम गरेर जनताको मन जित्न सक्नुपर्ने बताउनुभयो ।

पाएको मौकाको सदुपयोग गर्न नसके फेरि मौका पाउँदैनौ भन्दै उहाँले काँग्रेसले केन्द्रमा पाएका मन्त्रालय नयाँ ढंगले चलाएर देखाउनुपर्ने बताउनुभयो ।
आर्थिक सङ्कटको बेला गज्जबसँग अर्थ मन्त्रालय चलाएर देखाउन सक्नुपर्ने बताउँदै उहाँले सुशासनका साथ काम र परिणाम देखाऔँ, रुवाबासी गर्नै पर्दैन भन्नुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्र यादव, महासचिव योगेन्द्र कुँवर, निवर्तमान जिल्ला सभापति विष्णु खड्का लगायतले श्रमसम्बन्धी मौलिक हकलाई व्यवहारमै कार्यान्वयन गर्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई श्रमिकको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउनुपर्ने बताउनुभयो ।
ट्रेड युनियन काँग्रेस भक्तपुरको सातौँ जिल्ला अधिवेशनले लक्ष्मीशोभा प्रजापतिको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्