तपाईँ सुन्दै हुनुहुन्छः

बहुउपयोगी चिउरीको संरक्षणमा वन कार्यालय

मकवानपुर । डिभिजन वन कार्यालय मनहरिले बहुउपयोगी चिउरीको संरक्षणमा चासो दिएको छ ।

मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका पहाडी क्षेत्रमा पाइने वनस्पति चिउरीको संरक्षण गर्ने र चिउरीबाट व्यावसायिक लाभ लिने जमर्को कार्यालयले गरेको हो ।

राक्सिराङ र कैलाश क्षेत्रमा चिउरी रैथाने वनस्पति हो । चिउरीलाई यहाँका आदिवासी चेपाङले आफ्नो संस्कृतिसँग जोडेका छन् । चेपाङ समुदायमा छोरीको विवाह गर्दा चिउरीको बिरुवा दाइजो दिने संस्कृति समेत छ । केही वर्ष अघिसम्म यस क्षेत्रमा प्रशस्त पाइने चिउरी अहिले लोप हुने अवस्थामा पुगेको छ ।

त्यसैले संस्कृतिको समेत संरक्षण गर्ने र चिउरीबाट व्यावसायिक लाभ लिने उद्देश्यका साथ काम सुरु गरिएको डिभिजन वन कार्यालय मनहरीका डिभिजन वन अधिकृत विष्णु आचार्यले बताउनुभयो । कार्यालयले अहिले चिउरीको ग्राफ्टिंग सुरु गरेको उहाँले बताउनुभयो । “पुष्प विकाश केन्द्र गोदावरीका प्राविधिक सुधिर श्रेष्ठ लगायतको टोलीको प्राविधिक सहयोगमा कार्यालयको नर्सरीमा चिउरीको ग्राफ्टिङ नयाँ प्रयोग सुरुवात गरेका छौँ।” उहाँले भन्नुभयो । नर्सरीमा उत्पादन भएका बिरुवा राक्सिराङ गाउँपालिका वडा नम्बर ६, ७, ८ र ९ लगाइने उहाँले बताउनुभयो ।

अन्य काठ भन्दा चिउरीको काठ बलियो हुने भएकाले लुकिछिपी चिउरीको रुख काटी घर निर्माणमा प्रयोग हुँदै आएको छ । घर निर्माणका लागि काठ, पशुचौपायलाई घाँस र वृक्षारोपण नगर्दा चिउरी बिरुवा कम हुँदै आएको उहाँले बताउनुभयो । मौरीको मुख्य आहाराको रुपमा रहेको चिउरीको फूल रुख कटानसँगै लोप हुँदै गएको छ । उहाँले चिउरी संरक्षण गरी मह उत्पादन बढाउनुका साथै चिउरी घ्यू उत्पादन बढाउन कार्यालयले पहल गरेको बताउनुभयो ।

भदौ–असोजमा पात झरेर वसन्तमा पालुवा फेर्दै लटरम्म फुल्ने फल्ने चिउरीबाट अहिले वाइन, जुस, साबुन, घिउ, क्रिम, जाम र महदेखि प्राङ्गारिक मल तथा विषादीसम्मको उत्पादन शुरु भए पनि संरक्षण नहुँदा लोप हुने अवस्था छ ।

चिउरीको पात र काठबाट टिकाउ किसिमको दुनाटपरी तथा फर्निचर बन्छ । बाँकी उत्पादन यसको रसिलो फल र त्यसभित्रको बिजुला (कोया) बाट हुन्छ । वर्षौँदेखि जङ्गलमा झर्दै, खेर जाँदै गरेको चिउरीको बिजुला बटुलेर धेरैले राम्रो आम्दानी गर्ने गर्दथे । तर, पछिल्लो समय वनस्पति नै मासिने अवस्थामा पुगेको हुँदा मौरीको आहारा र घ्यू उत्पादनमा समेत कमी आएको आचार्यले बताउनुभयो ।

ग्राफ्टिङ चिउरी बिरुवाले २–३ वर्षभित्र उत्पादन दिने अपेक्षा गरिएको उहाँले बताउनुभयो । चिउरी मैनबत्ती, साबुन, क्रिम, जुस र विभिन्न कस्मेटिक सामग्री बनाउन समेत प्रयोग गरिन्छ ।

चिउरीको फल मानिसका लागि खानाको रुपमा समेत प्रयोग गरिँदै आएको हुँदा चिउरीबाट व्यावसायिक लाभ लिने जमर्को गरिएको आचार्यको भनाई छ । चिउरी बहुउपयोगी बिरुवा भएकाले यसको संरक्षणका लागि अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button