उपचारपछि कांग्रेस नेता भण्डारी स्वदेश फिर्ता
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचारपछि आज स्वदेश फर्कनुभएको छ ।

गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास लिक हुँदा आगलागीमा परी गम्भीर घाइते हुनुभएका भण्डारी भारतको मुम्बईमा अढाइ महिना उपचार गरेर आज साँझ नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कनुभएको हो ।
स्वदेश फर्केसँगै डा भण्डारीले एक विज्ञप्ति जारी गरी आफ्नो उपचारमा सघाउनुहुने र स्वास्थ्य लाभ गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । डा भण्डारीले पछिल्लो समय नेपालमा आगलागीको घटनाबाट वर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउनुपरेको बताउँदै यस्ता घटनालाई कम गर्न आफूले निरन्तर पैरवी गर्ने बताउनुभयो ।
सांसद भण्डारीले ‘आगामी दिनमा कुनै नेपालीले आगोमा जल्न नपरोस्, आगलागीमा परेको कुनै नेपालीले मर्न नपरोस्’ आफ्नो आगामी अभियान हुने बताउनुभयो । उहाँले खाना पकाउने ग्यास लगायत हुने आगलागीका घटनाबाट हुने जनधनको क्षतिलाई कम गर्न जनचेतनामूलक अभियान तथा अभ्यासलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।
गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित डा भण्डारी र उहाँकी आमा हरिकला भण्डारी आगलागीको घटनामा परी गम्भीर घाइते हुनुभएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो भने डा भण्डारीलाई सोही दिन नै थप उपचारका लागि भारत लगिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्