तपाईँ सुन्दै हुनुहुन्छः

लामो सङ्घर्षपछि प्राप्त उपलब्धिको अनुभूति जनताले गर्ने गरी काम गर्नुपर्छ : नेता सिंह

रेडियो नेपालका कार्यकारी निर्देशक केसीसहित स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न २२ व्यक्तित्व सम्मानित

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लामो सङ्घर्षपछि प्राप्त वर्तमान उपलब्धिको अनुभूति जनताले गर्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । 

स्वास्थ्य दर्पण मिडिया नेटवर्कले आज काठमाडौँमा आयोजना गरेको स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै पूर्व उपप्रधानमन्त्री सिंहले देशको समृद्धि र जनताको सेवा सुविधा सहज बनाई परिवर्तनको अनुभूति दिने काममा यो वा त्यो नभनीकन साझा प्रयासको आवश्यकता रहेको बताउनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका नेता नैनसिंह महरले स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन गर्न सके जनताले राहतको महसुस गर्ने बताउनुभयो । 

यस्तै, स्वास्थ्य दर्पण मिडिया नेटवर्कका संरक्षक एवं वरिष्ठ मृगौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्ले, नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्की, वरिष्ठ चिकित्सक प्रा.डा. दिव्यासिंह शाह, स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठ लगायतले चिकित्सा सेवालाई दुर्गम क्षेत्रसम्म प्रभावकारी ढंगले पुर्‍याउन सरकारले विशेष किसिमको योजना र कार्यक्रमका साथ आकर्षक प्याकेजहरू ल्याउनु जरुरी रहेको बताउनुभयो । 

सो अवसरमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत देशका विभिन्न क्षेत्रका चिकित्सक पत्रकार र स्वास्थ्यकर्मीलगायत विभिन्न २२ जना महानुभावलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट सम्मानित गरिएको थियो । 

यसरी सम्मानित हुनेहरूमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीसहित वरिष्ठ चिकित्सकहरू डा.ओममुर्ती अनिल, डा.दिव्यासिंह शाह, डा.राजेश नेपाल, डा.विश्वराम पौडेल, डा.डम्मर खड्का, डा.सुभेषराज कायस्थ, डा.सचिन ढुङ्गेल लगायतका रहनुभएको छ । 

रेडियो नेपालले स्वास्थ्य सचेतना फैलाउन खेल्दै आएको महत्वपूर्ण भूमिकाको कदर गर्दै कार्यकारी निर्देशक केसीलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट सम्मानित गरिएको हो भने स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको योगदानको कदर स्वरूप सम्मान प्रदान गरिएको स्वास्थ्य दर्पण मिडिया नेटवर्कले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button