तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडाका २५ जना महिलाहरूलाई पञ्चेबाजा तालिम

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले संस्कृतिको प्रवद्र्धन र महिलाको आर्थिक विकासका लागि पञ्चेबाजा तालिम सञ्चालन गरेको छ । 

परम्परागत पञ्चेबाजा प्रवद्र्धन र महिलाको आर्थिक विकासका लागि उपमहानगरपालिकाले हेटौँडा–१, का २५ जना महिलाहरूलाई दुई महिने तालिम सञ्चालन गरेको हो । 

तालिमबाट परम्परागत संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले बताउनुभयो ।  बाजा कुनै जात–धर्मले बजाउने नभई यसलाई आय–आर्जनको रुपमा लिएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । बाजा बजाउने काम सधैँ गर्नु नपर्ने, सिजनमा मात्र काम गर्नुपर्ने र राम्रो आम्दानी हुने पेसा भएकाले वडा कार्यालय सक्रिय भएर लागिपरेको उहाँले जानकारी दिनुभयो । तालिमका सहभागीहरूलाई सिकेको सीपको भरपुर उपयोग गर्न न्यौपानेले आग्रह गर्नुभयो । आगामी आर्थिक वर्षमा वडा कार्यालयले बाजा खरिद गर्ने समेत उहाँले जानकारी दिनुभयो ।

महिलाहरूलाई अगाडि ल्याउन र पञ्चेबाजाको संरक्षणमा तालिमले भूमिका खेल्ने तथा महिलाहरूको आर्थिक र सामाजिक रुपान्तरणका लागि यस्ता कार्यक्रमले प्रोत्साहन हुने बताइएको छ । 

तालिमको उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, १ नम्बर वडा अध्यक्ष न्यौपाने, २ नम्बर वडा अध्यक्ष विष्णु गोपाल महर्जन, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button