लोपोन्मुख सुरेल समुदायको कृषि कर्म

दोलखा । बाँस तथा चोयाका विभिन्न सामग्री बुन्ने परम्परागत पेशा भएका लोपोन्मुख सुरेल जातिका मानिसहरू अहिले कृषि पेसामा आकर्षित भएका छन् ।
घर आँगनमै सडकको पहुँच विस्तार भएपछि आफूहरू कृषि पेसामा आकर्षित भएको सुरेल समुदायका अगुवा हर्क बहादुर सुरेल बताउनुहुन्छ ।
दोलखाको गौरीशङ्कर– ५ सुरी मुख्य थलो रहेको सुरेल समुदायका मानिसले साग, लसुन, बन्दा, प्याज, आलु, काउली, खुर्सानी लगायतका तरकारी खेती सुरु गरेको भूमेथान खाद्यान्न उत्पादन कृषि समूहका अध्यक्ष यम कुमारी सुरेलले बताउनुभयो ।
झण्डै ६० घरधुरीमा जम्मा दुई सय ३० जनसङ्ख्या रहेको सुरेल समुदायको अधिकांश परिवार कृषि पेसामा लागेका छन् । २५ घर परिवार अहिले भूमेथान खाद्यान्न उत्पादन कृषि समूहमा आबद्ध भएर विभिन्न प्रकारका तरकारी खेती गरिरहेको अध्यक्ष सुरेलले बताउनुभयो ।

“सुरेल समुदायका मानिसहरू भर्खर– भर्खर व्यवसायीक कृषि खेतीमा लागेका छन्, अहिले आलु लगायतका तरकारी खेतीबाट बालबालिका पढाउन र घरको सामान्य गर्जो टार्न सक्ने आम्दानी गर्दैछन्”, अध्यक्ष सरेलले भन्नुभयो ।
“घर आँगनमै सडक पुगेपछि उत्पादित तरकारी बिक्रीको लागि बजारसम्म पुर्याउन सहज भएको छ, अब यही पेसालाई थप विस्तार गर्ने सोचमा अधिकांश सुरेल समुदाय पुगेका छन्”, स्थानीय अगुवा हर्कबहादुर सुरेलले भन्नुभयो । तर आफूलगायत केही ज्येष्ठ सुरेलले भने परम्परागत रुपमा गर्दै आएको बाँस तथा निगालोबाट बनाइने नाङ्लो, चाल्नो, डोको, फुङ्लो बुन्ने कामलाई समेत निरन्तरता दिइरहेको उहाँको भनाई छ ।
सुरेल समुदायले व्यवसायीक तरकारी खेतीसँगै गहुँ, मकै, कोदो, जौ, फापर लगायतका रैथाने बाली समेत लगाइरहेको स्थानीय अगुवा तीर्थ बहादुर सुरेलले बताउनुभयो । सुरेलहरूको माग अनुसार कृषि व्यवसायको लागि वडा तथा गाउँपालिकाले बिउ बिजन लगायतका सहयोग समेत गरिरहेको उहाँको भनाई छ ।
गौरीशङ्कर गाउँपालिका वडा नम्बर ५ सुरीका वडा अध्यक्ष सुनदर खड्का वडाको गौरवको रुपमा रहेका लोपोन्मुख सुरेल समुदायको संरक्षणको लागि वडाले कृषि, शिक्षा, स्वास्थ्य लगायतमा आवश्यकता अनुसार सहयोग गर्दै आएको बताउनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्