तपाईँ सुन्दै हुनुहुन्छः

विकास निर्माण तथा सेवा प्रवाहबारे तीन तहका सरकारका बीच अन्तरक्रिया

जनकपुरधाम । धनुषा जिल्लाको विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी सरोकारवाला निकायको सहभागितामा जनकपुरधाममा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

तीनै सरकारका प्रतिनिधिहरुको सहभागितामा भएको कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरू, प्रदेश सभाका सदस्य तथा प्रतिनिधि सभाका सदस्यहरूको सहभागिता रहेका थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको संयोजनमा भएको कार्यक्रममा विभिन्न सरकारी निकायहरूले गरिरहेको सेवा प्रवाह, विकास निर्माण तथा समस्याका बारेमा प्रस्तुति तथा छलफल भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले प्रशासन तथा जनप्रतिनिधिका बीचमा विकास निर्माण एवं सेवा प्रवाहको विषयमा भएको कार्यक्रममा समस्याको पहिचान र समाधानको विषयमा ठोस निर्णय आउने बताउनुभयो ।

उहाँले कुनै पनि देशको विकासका लागि मानवीय जनशक्तिको विकास आवश्यक भएको बताउँदै राजर्षिजनक विश्व विद्यालयको स्थापना पनि सोही उद्देश्यले भएको बताउँदै यसमा भएको समस्याको समाधान खोज्नका लागि सुझाव दिनुभयो ।

नेकपा एमालेका नेत्री जुली कुमारी महतोले यस्ता प्रकारका बृहत् सहभागिता सहितको अन्तरक्रिया कार्यक्रमले जिल्लाको विकास निर्माण तथा समस्याको समाधानमा ठूलो मद्दत पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button