प्रतिनिधिसभा बैठक : सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा धारणा राखिरहनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा विशेष समयमा सांसदहरुले बोल्ने क्रम जारी छ ।
विशेष समयमा प्रतिपक्षी दलका सांसदहरुले अयोग्य लडाकुलाई पैसा दिने निर्णय अविलम्ब फिर्ता लिन, एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण प्रयास भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँहरूले एमाले अध्यक्ष ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौँको सरस्वती नगरमा भएको हत्याका विषयमा सरकारले सत्यतथ्य जानकारी सदनलाई गराउनुपर्ने बताउनुभयो ।
सत्ता पक्षका सांसदहरुले अयोग्य लडाकुलाई पैसा दिने निर्णय वर्तमान सरकारले नभई यसअघिकै सरकारको विनियोजन र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गरिएको मा प्रतिपक्षले भ्रम फैलाउन मात्र खोजेको बताउनुभयो ।
सांसदहरुले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न, विगतमा भएका सम्झौता र संविधान कार्यान्वयनमा संसद् र सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसअघि, शून्य समयमा सांसदहरुले विकास बजेट कटौती नगर्न, अयोग्य लडाकुलाई पैसा दिने निर्णय फिर्ता लिन, राष्ट्रपति उत्थान कार्यक्रमलाई प्रभावकारी बनाउन, हात्तीको आक्रमणबाट व्यक्तिको मृत्यु हुनेलाई राहत दिनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा विभिन्न ९ वटा विधेयकहरूलाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त “अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६, राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी “सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९, “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९, राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै आजकै बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७, राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ र राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त “अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ लाई सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको आजको बैठक जारी छ ।








प्रतिक्रिया राख्नुहोस्