कोशी प्रदेशमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माणको तयारी शुरु

विराटनगर । विपद् जोखिम न्युनिकरण एवं व्यवस्थापन लागि कोशी प्रदेश सरकारले प्रदेशका तीन स्थानमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माणका लागि तयारी थालेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सम्बन्धित पालिकाको साझेदारीमा प्रदेश सरकारले सेवा केन्द्र स्थापनाका लागि तयारी थालेको हो ।
पहिलो चरणमा झापाको अर्जुनधारा नगरपालिका, मोरङको रंगेली नगरपालिका र तेह्रथुमको आठराई गाउँपालिकामा सेवा केन्द्र स्थापनाका हुने भएको छ ।
अर्जुनधारा नगरपालिकामा आवश्यक भवन र पूर्वाधारका निर्माणका लागि डिपिआर स्वीकृत भइसकेको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा डिपिआर स्वीकृत भएको हो ।
डिपिआर स्वीकृत भएसँगै सेवा केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढेको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले बताउनुभयो ।
मन्त्रालय र तीन वटा पालिकाको साझेदारीमा करिब ८ करोडको लागतमा एक विगाह जग्गामा सेवा केन्द्र निमार्ण हुन लागेको हो ।

नगरपालिकाको वडा नं. २ मा निर्माण हुने सेवा केन्द्रले अर्जुनधारा, कनकाई, बिर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा सेवा उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो ।
त्यस्तै मोरङको रंगेली नगरपालिकाको वडा नं. ८ दर्वेशामा तथा तेह्रथुमको आठराई गाउँपालिकाको वडा नं. १ स्थित पुरानो बजारमा सेवा केन्द्र निर्माणका लागि मन्त्रालय र स्थानीय तहबीच सम्झौता भएको छ ।
आठराई गाउँपालिकाका सूचना अधिकृत दुवसु खडकाले विपद् व्यवस्थापन लागि सेवा केन्द्र निर्माण गर्न १३ रोपनी जग्गा खरिद गरेर पालिकाले काम अघि बढाएको बताउनुभयो ।
करिब ९ करोड रुपैयाँको लागतमा निर्माण हुने अत्याधुनिक सुविधा सम्पन्न सेवा केन्द्रमा विपद्सँग जुध्न सक्ने सबै प्रकारका उपकरण तथा जनशक्ति उपलब्ध हुने उल्लेख गर्नुहुँदै उहाँले सेवा केन्द्रले आठराई र फेदाप गाउँपालिकामा मात्र नभएर तेह्रथुम र पाँचथर जिल्लाका विभिन्न पालिकामा समेत सेवा पुर्याउने बताउनुभयो ।
विपद् व्यवस्थापन लागि एकीकृत रुपमा सेवा पुर्याउन सेवा केन्द्र स्थापना गर्न लागिएको हो । बाढी पहिरोलगायत विभिन्न विपद्का कारण वर्षेनी धनजनको ठुलो क्षति हुने गरेकाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन केन्द्र निमार्ण गर्न लागेको हो ।
मन्त्रालयका विपद् व्यवस्थापन केन्द्र महाशाखा प्रमुख चूडामणि गुरागाईँले सेवा केन्द्रमा शव वाहन, एम्बुलेन्स दमकल तथा विपद् आइपरेको अवस्थामा उद्धारका लागि आवश्यक जनशक्ति २४ घण्टा परिचालन हुने गरी तयारी अवस्थामा रहने बताउनुभयो । विपद्मा उद्धार गरिएकाहरूलाई तत्काल बसोबासका लागि केन्द्रमा व्यवस्था मिलाउने गरी सेवा केन्द्रमा पूर्वाधार निर्माण हुने उहाँको भनाई छ ।
रंगेली नगरपालिकामा स्थापना हुने सेवा केन्द्रले रंगेली, सुनवर्सी नगरपालिका तथा कानेपोखरी र धनपालथान गाउँपालिकालाई सेवा उपलब्ध हुने छ ।
प्रदेश सरकारले प्रदेशका १४ वटै जिल्लाका पालिकामा सेवा केन्द्र स्थापना गर्ने लक्ष्य लिएकोमा पहिलो चरणमा १० वटा पालिकालाई लक्षित गरेर तिन स्थानमा सेवा केन्द्र स्थापना गर्न लागिएको हो ।
झापाको अर्जुनधारा, मोरङको रंगेली नगरपालिका र तेह्रथुमको आठराई गाउँपालिकामा सेवा केन्द्र स्थापना हुदैछ ।
प्रदेशका अन्य धेरै पालिकाहरूले पनि सेवा केन्द्र स्थापनाका लागि माग गर्दै आएको आएको र त्यहाँको अवस्था हेरेर आवश्यकता अनुसार सेवा केन्द्र स्थापना गर्दै जाने मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्