तपाईँ सुन्दै हुनुहुन्छः

गाई भैँसीमा ‘लम्पि स्किन’ रोग देखिएपछि पशुपालक किसान चिन्तामा

नवलपुर । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरमा गाई भैँसीमा ‘लम्पि स्किन’ ( एक प्रकारको सङ्क्रामक सरुवा रोग ) देखापरेपछि यहाँका किसान चिन्तित बनेका बनेका छन् । 

नवलपुरको देवचुली ,गैँडाकोट , कावासोती नगरपालिकामा यो रोग देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरका प्रमुख डा.ऋषभ गुरागाईँले  बताउनुभयो ।  देवचुली नगरपालिकामा रहेका गाई भैँसीमा यो रोग बढी देखिएको छ ।

नवलपुरमा असोज महिना देखि फाट्टफुट्ट ‘लम्पि स्किन ’ रोग देखा परेकोमा  अहिले जिल्लाका विभिन्न पालिकामा फैलिएको उहाँले बताउनुभयो ।  देवचुली नगरपालिकामा गाई भैँसीमा यो रोगको अवस्था  भयावह रहेको उहाँको भनाई छ । जिल्लाका विभिन्न स्थानमा रोग फैलिँदै गएको कार्यालय प्रमुख गुरागाईँले बताउनुभयो ।

देवचुली नगरपालिकाको १३ वटा गोठमा नमूना  लिँदा ७० प्रतिशतमा यो रोगको संक्रमण देखिएको उहाँले बताउनुभयो । 

पशु चौपायामा लम्पि स्किन रोग देखा परेपछि किसान भने महामारीकै रूप लिने हो कि भनेर चिन्तित छन् । कावासोती १५ मा सुवेदी कृषि तथा गाई फर्म सञ्चालक गर्दै आउनुभएका कृषक रामप्रसाद सुवेदीले संक्रमण छिटो नियन्त्रण नभए महामारीकै रुपमा फैलने हो की भन्ने चिन्ता व्यक्त गर्नुभयो । 

कावासोती नगरपालिकाका पशु विकास अधिकृत डा. टेकराज पौडेलले रोग रोकथामका सुझाव–परामर्श र सामान्य औषधि निःशुल्क उपलब्ध गराइएको बताउनुभयो । 

गाई भैँसीमा  ‘लम्पि स्किन ’ रोग लागेमा  जरो आउने, झोक्राउने, खाना नखाने,  दुधालु  पशुमा दूध एकदमै धेरै घटेर जाने, ज्यानभरि खटिरा आउने र   एक÷ दुई प्रतिशत सम्म पशुहरूको मृत्यु हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय प्रमुख गुरागाईँले जानकारी दिनुभयो । 

किर्ना, भुसानाहरु बाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम धेरै रहेको उहाँले बताउनुभयो । रोग विरुद्धको खोप नहुँदा र प्रभावकारी उपचार नहुँदा थप समस्या भएको गुरागाईँले बताउनुभयो । ‘लम्पि  स्किन’  गराउने विभिन्न प्रकारका भाइरस हुने हुँदा र प्रकृति पनि फरक देखिने भएकाले खोप प्रयोगको विषय पनि ग्राहो हुने प्रमुख गुरागाईँले  बताउनुभयो । लम्पि स्किन रोगको नियन्त्रणका लागि जैविक सुरक्षालाई ध्यान दिन, रोगी पशु छुटाइ राख्न र गोठको सरसफाइमा ध्यान दिन उहाँले पशुपालक किसानलाई आग्रह गर्नुभएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button