तपाईँ सुन्दै हुनुहुन्छः

बारा क्षेत्र नं.२ मा रास्वपाका उम्मेदवार खरेल सहित ३१ जनाको जमानत जफत 

बारा । बारा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एवम् पूर्व प्रहरी नायब महानिरीक्षक रमेश खरेलसहित ३१ जना उम्मेदवारको जमानत जफत भएको छ । 

आज बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत मात्र पाउनुभएको छ । बारा क्षेत्र नं.२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले ६९ हजार २२ मत खसेकोमा ६८ हजार १ सय ९२ मत सदर भएको बताउनुभयो । उहाँका अनुसार रास्वपाका उम्मेदवार खरेलले पाउनुभएको मत ४.१४ प्रतिशत मात्र रहेकाले उहाँको जमानत जफत भएको हो ।

बारा क्षेत्र नं.२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दश प्रतिशत मत कटाउन सफल भएका छन् । बाँकी ३१ उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिनुभएको छ । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ ।

आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद सा तेली, नागरिक उन्मुक्ति पार्टीका कमरूल्लाह अन्सारी, नेमकिपाका मुक्ति प्रसाद यादवको पनि जमानत जफत भएको छ । त्यस्तै नेपाल संघीय समाजवादी पार्टीका नेजारूल अन्सारी, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोदराम चमार र २४ स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button