सशस्त्र प्रहरी धनुषाले मनायो १६ औँ स्थापना दिवस, अढाई करोडको जग्गा दिनेलाई सम्मान

जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपाल नंं ८ गण हेड क्वाटर धनुषाले १६ औँ स्थापना दिवस विविध रचनात्मक कार्यक्रमको आयोजना गरेर आज जनकपुरधाममा मनाएको छ ।
यस उपलक्ष्यमा जनकपुरधामको मठ मन्दिर तथा पोखरीको सरसफाई, वृक्षारोपण, विभिन्न प्रकारको खेलकुद प्रतियोगिताको आयोजना गरि मनाइएको छ ।
स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीको धनुषाको नक्टाझिझमा विओपी स्थापनाका लागि धनुषाको मिथिला नगरपालिकाको नक्टाझिझमा अढाई करोड मूल्य पर्ने ५ कठ्ठा जग्गा दान दिने दिनेश कुमार महतोलाई दोसल्ला ओढाएर कदर पत्र प्रदान गर्दै सम्मानित गरेको छ ।

यसै गरि सशस्त्र प्रहरीको भौतिक संरचनाको निर्माणमा सहयोग गर्ने महेश प्रसाद साह र महेन्द्र प्रसाद साहलाई दोसल्ला ओढाएर सम्मान गरिइएको छ । यसै गरि २ माइल दौडमा विजयी भएका मिथिन कुमार राम, सरोज कुमार रानामगर, टेबल टेनिस, रस्साकस्सी तथा हाजिरी जवाफ प्रतियोगिताका विजयी सशस्त्र प्रहरीलाई पदक, प्रमाणपत्र तथा नगद सहित सम्मान गरिइएको छ ।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल नेपाल नंं २ छिन्नमस्ता बर्दिबासका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले मधेश प्रदेशको राजधानीको सुरक्षा, सीमा सुरक्षा, रेल्वे सुरक्षा, मठमन्दिरको सुरक्षा तथा विशिष्ट व्यक्तित्व सुरक्षामा सशस्त्र प्रहरी बल धनुषाले खेलेको भूमिकाको सराहना गर्नु भयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नंं ८ हेड क्वाटर धनुषाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिनेश मल्लले पनि बोल्नु भएको थियो । समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक जनक भट्टराई, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहाल, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जिजेन्द्र महासेठ, चेम्बर अफ कमर्शका अध्यक्ष विजय कुमार साह सहितका व्यक्तिहरू उपस्थित रहनु भएको थियो ।
कार्यक्रम विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिइएको थियो । जनकपुरधामको मुजेलियामा १६ वर्ष अगाडी सशस्त्र प्रहरीको वेश क्याम्पको रुपमा स्थापना भएका थिए ।









प्रतिक्रिया राख्नुहोस्