तनहुँका जनताका अपेक्षालाई न्याय गर्नेछु : डा. वाग्ले

दमौली I तनहुँ क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले तनहुँका जनताका अपेक्षालाई न्याय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँका जनताले दिएको भरोसा र सद्भावलाई न्याय दिने गरी काम गर्ने उल्लेख गर्नुभयो ।
“तनहुँका जनताले गरेको भरोसालाई डगमगाउन दिनेछैन, अपेक्षा ठूलो छ त्यसलाई न्याय दिने गरी काम गर्ने मेरो प्रतिबद्धता हुनेछ,” उहाँले भन्नुभयो । लोकतन्त्रमा व्यक्तिभन्दा माथि देश हुने बताउँदै डा. वाग्लेले सकारात्मक एजेण्डा लिएर जनतामाझ गएको र जनताले उक्त एजेन्डालाई समर्थन गरेको बताउनुभयो ।
“म यहाँ कसैलाई हराउनका लागि आएको थिइन, देशको मुद्दा बोकेर आएको थिएँ । केही प्रवृत्तिको विरुद्धमा आएको थिएँ,” उहाँले भन्नुभयो । उहाँले प्रतिस्पर्धी दलका उम्मेदवारहरूसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
डा. वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने बताउँदै जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गर्नुभयो । प्रत्येक मत अमूल्य हुने बताउँदै उहाँले त्यसलाई आफूले आत्मसाथ गरेको बताउँदै उहाँले भन्नुभयो, “मेरो नियत असल छ । झुटा आश्वासन दिएको छैन । सकारात्मक एजेण्डा लिएर जनतामाझ गएको थिएँ । सबैको सामूहिक प्रयासले नै देश विकास गर्ने हो ।” रासस
भिडियो :








प्रतिक्रिया राख्नुहोस्