तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा नयाँ सरकार गठन आह्वानमा विलम्ब

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठन आह्वानमा ढिलाइ भएको छ । शनिवारको गण्डकी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट नयाँ सरकार आह्वान हुनुपर्नेमा अझै हुन नसकेको हो । 

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दललाई बहुमत प्राप्त हुन नसकेको अवस्थामा उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । कुनै एक दलको बहुमत नभएको अवस्थामा उपधारा २ अनुसार मुख्यमन्त्री बन्नुभएका नेकपा एमालेका नेता खगराज अधिकारीले विश्वासको मत पाउन असफल भएपछि उहाँ नेतृत्वको सरकार ढलेको छ । अब उपधारा २ वा ३ मा गएर सरकार आव्हान गर्ने भन्नेमा प्रदेश प्रमुखले ठोस निर्णय लिन सक्नुभएको छैन । उपधारा ३ मा संसद्को सबैभन्दा ठूलो दललाई प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था छ । 

नयाँ सरकार गठन आह्वानका लागि प्रदेश प्रमुखले कानुनी परामर्श गरिरहेको प्रदेश प्रमुखको कार्यालयले बताएता पनि दलहरू बीच सहमति जुट्न नसक्दा नयाँ सरकार गठन आव्हानमै ढिला भएको बुझिएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बिच सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने सम्बन्धमा सहमति जुट्न नसकेको बताइएको छ । काँग्रेसले उपधारा ३ बमोजिम ठुलो दलको हैसियतले सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने बताएको छ भने माओवादीले उपधारा २ बाटै सरकार बन्ने अवस्था भइरहेकोले सरकारको नेतृत्व आफूले गर्न पाउने दाबी गरेको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा काँग्रेसको २७, नेकपा एमालेको २२, माओवादीको सभामुख बाहेक ७ र राप्रपाको २ सिट छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button