तपाईँ सुन्दै हुनुहुन्छः

ज्येष्ठ नागरिकको हक अधिकारका लागि मिलेर अगाडि बढ्ने समझदारी 

काठमाडौँ । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासंघबीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको कार्यालय ललितपुरमा आज भएको कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष छत्र बहादुर प्रधान र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासङ्घका अध्यक्ष एमयोङ योङ जुकले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यस्तै, सोही कार्यक्रममा काठमाडौँस्थित एजिङ नेपाल र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासंघबीच पनि आजै समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

सो समझदारी पत्रमा एजिङ नेपालका अध्यक्ष कृष्ण एम गौतम र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासङ्घका अध्यक्ष एमयोङ योङ जुकले हस्ताक्षर गर्नुभयो । 

समझदारी अनुसार राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ, एजिङ नेपाल र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासङ्घ (काप)बीच एक अर्काको देशका ज्येष्ठ नागरिकका  अनुभवको आदानप्रदान गरी ज्येष्ठ नागरिकहरूको हक अधिकार र सुरक्षित जीवनका लागि काम गरिने कार्यक्रमका लागि सहजीकरण गर्नुभएका रत्नप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

समझदारी पत्रमा हस्ताक्षरपछि सम्बोधन गर्नुहुँदै राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष प्रधानले कोरियाको राम्रा अनुभवलाई सिको गरी ज्येष्ठ नागरिकको हक हितमा काम गर्न यसबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

यस्तै, कार्यक्रममा एजिङ नेपालका अध्यक्ष गौतमले ज्येष्ठ नागरिकको अनुभवबाट राज्यलाई नीति निर्माण गर्नमा सहयोग पुग्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिनु अहिलेको आवश्यकता भएको र आफूहरूले त्यसअनुसार पैरवी गर्दै अगाडि बढ्ने बताउनुभयो । 

कार्यक्रममा कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासङ्घ (काप)का अध्यक्ष एमयोङ योङ जुकले नेपालको ज्येष्ठ नागरिकका क्षेत्रमा देखिएका उपलब्धिहरू प्रशंसनीय रहेको उल्लेख गर्दै कोरिया र नेपालको एक अर्काको अनुभवका राम्रा पक्षलाई अनुसरण गर्दै ज्येष्ठ नागरिक हक अधिकार र सुरक्षा सम्बन्धी कार्यका लागि मिलेर अगाडि बढ्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button