गठबन्धनलाई हार्ने छुट छैन : सभापति देउवा
चितवन । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपनिर्वाचनमा गठबन्धनलाई हार्ने छुट नभएको बताउनुभएको छ ।
लोकतान्त्रिक–वाम गठबन्धनले आज चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउन मतदातालाई आग्रह गर्नुभयो । अहिलेको सत्ता गठबन्धनले पाँच वर्ष सरकार चलाउने उल्लेख गर्दै उहाँले विकासका लागि समेत ढुक्क रहन आग्रह गर्नुभयो ।
चुनावी सभामा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रजातन्त्रको बहालीका लागि अग्रपङ्क्तिमा लड्दै आएको चितवनका बासिन्दाले आफ्नो मतलाई गलत रुपमा प्रयोग गर्न नहुने बताउनुभयो । विचार र सिद्धान्त नभएको पार्टीले देशलाई सुशासन दिन नसक्ने उहाँको भनाइ थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले देशमा व्यक्तिवादी चरित्र हाबी हुन थालेको उल्लेख गर्दै पुराना र इतिहास बोकेका पार्टीलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले आगामी चार वर्षमा आम नागरिकले देख्ने गरी विकास हुने बताउनुभयो । विकासका लागि सत्ता गठबन्धनका उम्मेदवार जिताउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा चितवन क्षेत्र नं २ बाट लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले आफूले यस क्षेत्रको समस्या नजिकबाट पहिचान गरेकाले समस्या समाधान गर्न पनि जिम्मेवारी दिन आग्रह गर्नुभयो ।
चुनावी सभालाई नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य नारायण दाहाल, एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य सावित्रा भुसाल, जिल्ला अध्यक्ष अरुणपीडित भण्डारी, नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल लगायतले सम्बोधन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्