तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि छलफलका सुरु

काठमाडौँ । प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि छलफलका सुरु भएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि सैद्धान्तिक पक्षमा छलफल सुरु भएको हो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ छलफलका लागि सभामा प्रस्तुत गर्नुभएको थियो । 

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले मुलुकमा पारदर्शी र जबाफदेहिता प्रमुख पक्ष भएको भन्दै भ्रष्टाचार नियन्त्रण तल्लो तह देखिनै गरिनुपर्ने बताउनुभयो । 

सांसदहरुले संवैधानिक निकायका प्रमुखहरू संसद्प्रति उत्तरदायी हुनुपर्ने, नीतिगत भ्रष्टाचारको पनि कहीँ न कहीँबाट परीक्षण हुनुपर्ने, संवैधानिक निकायको अनुगमन निरीक्षण गर्न संसदीय समिति निर्माण हुनुपर्ने बताउनुभयो । 

छलफलका क्रममा सांसदहरुले पूर्वाग्रहका आधारमा कानुनको प्रयोग गर्न नसक्ने गरी अख्तियारलाई स्वायत्तता दिने शक्तिशाली कानुन निर्माण गरिनुपर्ने बताउनुभयो ।  

सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीको नियुक्त मापदण्डमा नै सुधार गर्नुपर्ने र आयोगले विगतमा भए गरेको कामको समीक्षा गरिनुपर्ने धारणा राख्नुभयो ।  

यसअघि विशेष समयमा सांसदहरुले नागरिकता समस्या समाधान गर्नुपर्ने, किसानलाई आवश्यक मलबीउ उपलब्ध गराउनुपर्ने, बन्द उद्योग तथा कलकारखानाहरू पुनः सञ्चालन गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यसैगरी सांसदहरुले देशको आर्थिक संकट समाधान गर्न र  राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण कार्यलाई गति दिन आगामी बजेटबारे समयमै छलफल सुरु गर्न माग गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफल जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button