सडक दुर्घटनाका मृतकको पहिचान खुल्यो

बर्दिबास । महोत्तरीको गौशाला नगरपालिका १ स्थित गौशाला सम्सी सडक खण्डमा आज दिउँसो भएको सडक दुर्घटनाका मृतक तीनै जनाको पहिचान भएको छ ।
मृतक तीनै जना एकै परिवारको भएको खुल्न आएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी २४ वर्षीया श्रीमती अन्जु मण्डल र ६ वर्षीया भतिजी अंशु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीप कुमार गिरिले जानकारी दिनुभयो ।
गौशाला सम्सी सडक खण्डमा दिउँसो बस र मोटरसाइकल एक आपसमा ठोकिदा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
गौशालाबाट बर्दिबास तर्फ आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बस र बर्दिबासबाट गौशाला तर्फ जाँदै गरेको मधेश प्रदेश ०१—००४प ६८१९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार तीन जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरी प्रवक्ता दिलीप गिरीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्