तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोरोना संक्रमण बढेसँगै वीरगञ्जमा उच्च सतर्कता

वीरगन्ज । भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालको मुख्य प्रवेशद्वार वीरगञ्ज–रक्सौल नाकामा कोरोना परीक्षणलाई तीव्रता दिँदै उच्च सतर्कता अपनाइएको छ ।

विगतमा निष्क्रिय रहेको हेल्थ डेस्कलाई वीरगञ्ज महानगरपालिकाले पुनः सक्रिय बनाउँदै अहिले भारतबाट आउने यात्रुहरूको दैनिक र्यापिड टेस्ट प्रविधिबाट परिक्षण गरिरहेको छ ।

परीक्षणका क्रममा दुई जना भारतीय नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएको हेल्थ डेस्ककी प्रमुख डा. अनिषा महतोले बताउनुभयो ।

डा. महतोका अनुसार भारतको पश्चिम बङ्गालस्थित कलकत्ताबाट आएका पर्यटकहरूमध्ये दुई जनामा र्यापिड टेस्ट प्रविधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । सङ्क्रमण पुष्टि भएकाहरूमा कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण नदेखिए पनि पिसिआर परीक्षण गर्ने परामर्श दिएर उनीहरुलाई पुनः भारत नै फिर्ता पठाइएको डा. महतोले बताउनुभयो ।

भारतबाट आउने पर्यटक र लामो समयसम्म त्यहाँ बसेर आएकाहरूको प्राथमिकताका साथ परीक्षण भइरहेको उहाँले बताउनुभयो ।

हाल वीरगञ्ज नाकामा मात्रै दैनिक साँढे ३ सयदेखि ४ सय जनासम्मको कोरोना परीक्षण हुने गरेको छ । त्यस्तै भारतका विभिन्न ठूला सहरबाट रक्सौल आउने ट्रेनका यात्रुहरूलाई परीक्षणको दायरामा ल्याइएको डा. महतोले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button