सल्यानमा फुसको छानो हटाउन जस्तापाता वितरण

सल्यान । सल्यानको कालीमाटी गाउँपालिकाले फुसको छानो मुक्त गर्ने अभियान सुरु गरेको छ ।
पालिकाभित्र बसोबास गर्ने गरि र अति विपन्न घरपरिवारको फुसको छानो मुक्त गर्न जस्तापाता वितरण गरिएको हो ।
गरिबिका कारण जस्तापाताले घर छाउन नसकेका २८० घरपरिवारलाई कर्कट पाता सहयोग गरेको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिनुभयो ।
सात वडा रहेको पालिकामा प्रत्येक वडाबाट ४० घर गरी २ सय ८० घरलाई पाता वितरण गरिएको उहाँको भनाई छ । उहाँले भन्नभयो “चालु आर्थिक वर्षको पहिलो चरणमा २८० घरधुरीलाई जस्तापाता वितरण गरेका छौँ । यो तेस्रो वर्ष हो । दुई वर्ष अघि देखि निरन्तर रुपमा फुसका छाना हटाउने अभियानमा लागी परेका छौँ ।”
सरकारी जागिर नखाएको, आफ्ना छोराछोरीलाई नीजि विद्यालयमा नपढाएको र जनप्रतिनिधि नभएकोलाई मात्र जस्तापाता वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडयालले बताउनुभयो । उहाँले भन्नुभयो “वडा कार्यालयको सिफारिस अनुसार पहिलो चरणमा लक्षित समुदायलाई जस्तापाता वितरण गरेका छौँ ।”
बढ्दो सुख्खा खडेरीका कारण आगलागीको प्रकोप बढिरहेको, जङ्गली जनावरबाट बच्न फुसका छाना विस्थापनमा जुटेको कालीमाटी गाउँपालिका ३ का वडाध्यक्ष शिव कुमार खत्रीले बताउनुभयो । फुसको छानो भएर जस्तापाता लगाउन नसक्ने गरिब, विपन्न परिवारलाई निःशुल्क जस्तापाता वितरण गरिएको खत्रीले बताउनुभयो ।
गाउँपालिकाबाट जस्तापाता पाउँदा निकै खुशी लागेको वडा न ३ किमिरेकी तुल्सा डाँगीले बताउनुभयो । “पहिले खरको छाना हुँदा वर्षामा पानी चुहिएर हैरान हुन्थ्यो अब त्यो समस्याबाट मुक्ति पाइने भयो”, उहाँले भन्नुभयो, “आजभोलि खर छुवाउन खर पाइँदैन, छुवाउने मान्छे पाउन गाह्रो छ । खडेरीमा कही कतैबाट आगलागी भएर घर खरानी हुन्छ की भन्ने डरले सताइ रहन्थ्यो तर टिन पाएपछि निकै खुशी लागेको छ ।”








प्रतिक्रिया राख्नुहोस्