म्याग्दीका विद्यार्थीले भर्नासँगै पुस्तक पाए
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ डढुवाको ज्योति आधारभूत विद्यालयका कक्षा ६ का विद्यार्थीले गत शैक्षिक सत्रमा पूरा पुस्तक बिना नै परीक्षामा सहभागी भएका थिए ।
यसपालि भने नयाँ शैक्षिक सत्रको सुरुआतमै पर्याप्त पुस्तक विद्यालयमा पुगिसकेको प्रअ मीनबहादुर खत्रीले बताउनुभयो । “गत शैक्षिक सत्रमा कक्षा ६ का विद्यार्थीले अङ्ग्रेजी विषयको पुस्तक बिना नै परीक्षा दिनुपरेको थियो,” उहाँले भन्नुभयो, “नयाँ शैक्षिक सत्रमा भने भर्ना अभियानसँगै विद्यार्थीको हातहातमा पुस्तक वितरण गर्ने तयारीमा छौँ ।”
ज्योति आधारभूत मात्र नभएर म्याग्दीका दुई सय ५० मध्ये आइतबारसम्म ७० प्रतिशत सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रको पुस्तक पुगिसकेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका जिल्ला अध्यक्ष नवराज पौडेलले शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहको शिक्षा शाखासँग समन्वय गरेर बेनीमा बिक्री केन्द्र स्थापना गरेर पुस्तक बिक्री वितरणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
“टाढाका विद्यालयलाई प्राथमिकता दिएर गत चैत २८ गतेदेखि पुस्तक वितरण सुरु गरेका थियौँ,” उहाँले भन्नुभयो, “धवलागिरि, मालिका, रघुगङ्गा, अन्नपूर्ण र मङ्गला गाउँपालिका तथा बेनी नगरपालिकाको ७० प्रतिशत विद्यालयमा पुस्तक पुगिसकेको छ ।”
जनक शिक्षा सामग्री लिमिटेडको पोखरास्थित बिक्री केन्द्रबाट म्याग्दीका व्यवसायीले आयात गरेको पुस्तक विद्यालयलाई पालिकाअनुसार समय तालिका बनाएर बेनीबाट वितरण गरिएको हो । शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कका आधारमा प्रतिकक्षा एक हजार चार सयदेखि एक हजार नौ सय सेटको हाराहारीमा पुस्तक आयात गरिएको थियो । म्याग्दीमा वार्षिक रु एक करोड मूल्य बराबरको पुस्तक खपत हुन्छ ।








प्रतिक्रिया राख्नुहोस्