वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने काममा सहयोग गर्न मन्त्री भण्डारीको आग्रह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सरकारले सम्मानजनक हिसाबले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने काम गरिरहेकाले व्यवसायीलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
वैदेशिक रोजगार बोर्ड सचिवालयले काठमाडौँस्थित बत्तिसपुतली आज आयोजना गरेको वैदेशिक रोजगार व्यवसायीहरूको क्षमता अभिवृद्धि सम्बन्धि दुई दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री भण्डारीले पहिलो औपचारिक कार्यक्रममा नै मुलुकको अर्थतन्त्र धानेको यो क्षेत्रमा रहेका व्यावसायिक संस्थाका प्रतिनिधिहरूका सामु बोल्न पाउँदा गर्व महसुस भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “वैदेशिक रोजगारको क्षेत्रमा समस्या भनेको व्यवसायी होइन, एजेन्ट हो ।”
“सरकार व्यवसायी होइन, सहजीकरण गर्ने नियामक निकाय मात्र हो । व्यवसायीले च्यारिटी गर्दैन, उपयुक्त सेवा शुल्क लिन्छ ’’ उहाँले भन्नुभयो, “तर यसका लागि हामी मर्यादित हुनुपर्छ” ।

उहाँले हरेक दिन गलत ढङ्गबाट भएपनि श्रमिक गन्तव्य मुलुक गइरहेकाले अब खुला बजारको खोजी र व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । “अब नयाँ गन्तव्य मुलुकको खोजी गर्नु अपरिहार्य छ”, उहाँले भन्नुभयो, “मुलुकमा नेपाली श्रमिकको दक्षताको ब्राण्डिङ गर्नुपर्ने बेला भएको तर यसका लागि व्यवसायीहरूको पनि क्षमता अभिवृद्धि हुनुपर्छ ।”
उहाँले सरकारले श्रमिक र व्यवसायीको हितमा एकद्वार प्रणालीमार्फत काम गर्न ७ सय ५३ स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई सक्रिय बनाइएको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अर्यालले विगत एक वर्षयता वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउन डिजिटल र प्रादेशिक पहुँचमा बिस्तार गरेको उल्लेख गर्नुहुँदै व्यवसायलाई पारदर्शी बनाउन सकारात्मक प्रयास भइरहेको बताउनुभयो ।
“५७ प्रतिशत नेपालीको घरमा विप्रेषण पुगेको छ । हाल २२ प्रतिशत कुल ग्राहस्थ उत्पादनमा सहयोग गरेको वैदेशिक रोजगारको क्षेत्रबारे नकारात्मक टिप्पणी हुनु हामी सबैको लागि राम्रो होइन ।”, उहाँले भन्नुभयो, “एक सय जना श्रमिक गन्तव्य पुर्याउने कुरा अन्तर्राष्ट्रिय श्रम सङ्गठन कै विपरीत भएकाले केही ऐन संशोधन गर्नेतर्फ छलफल भइरहेको छ , अब छिट्टै व्यवसाय र व्यवसायीको निम्ति पनि ठोस निर्णय आउनेछ ।”
उहाँले वैदेशिक रोजगारलाई मर्यादित व्यवस्थित र सुरक्षित बनाउन मन्त्रालय सधैँ साथमा रहेको स्पष्ट पार्नुभयो । समयमा माग पत्र प्रमाणीकरण नहुँदा हाम्रो माग अन्यत्र गएको उल्लेख गर्नुहुँदै उहाँले यसका लागि सरकारले केही व्यवस्थित बनाउन लागिपरेको बताउनुभयो ।
सचिव अर्यालले सार्क राष्ट्रमै वैदेशिक रोजगार सम्बन्धि हाम्रो व्यवस्था र प्रणाली अब्बल रहेको सन्देश दिन सबै मर्यादित र सरकारको सहयोगी भएर काम गर्न आग्रह गर्नुभयो ।
शुन्य लागतमा गन्तव्य मुलुक पठाउने व्यवसायी र श्रमिकको सङ्ख्या बढ्न थालेकोले यसलाई पनि प्रभावकारी बनाउन र व्यवसायीहरूको आचारसंहितालाई पालना गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोर्ड सचिवालयका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले सरकार व्यवसायीहरूको पूरक अङ्ग भएकाले यो क्षेत्रलाई व्यवस्थित बनाउन सहयोगी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले शुन्य लागतमा श्रमिक पठाउने व्यवसायीहरूको प्रवर्द्धन आवश्यक रहेको बताउनुहुँदै बोर्डले गर्ने काममा आवश्यक समन्वय एवं सहकार्य गर्न पनि व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले व्यवसायलाई सुदृढ बनाउन समय सान्दर्भिक रुपमा कम्पनी मर्जरमा जाँदा नियमन र अनुगमन गर्न पनि प्रभावकारी हुने बताउनुभयो ।
यो चालू वर्षको ९ महिनामा ६ लाख २ हजार १५० जनाले श्रम स्वीकृति लिएका छन् । योसँगै ठगीका घटना बढेका छन् । यसलाई नियन्त्रण गर्नु चुनौती रहेको छ । यसको पूर्व रोकथामका हिसाबले अघि बढ्नुपर्ने भएको छ ।
महानिर्देशक आचार्यले श्रमिकको जाने लागत र समय बढेपनि सो अनुसार श्रमिकले पठाउने विप्रेषण अझै नबढेको उल्लेख गर्नुहुँदै व्यवसायीको साख गन्तव्य मुलुकमा बिग्रँदै गएकाले व्यवसाय र यसको साख जोगाउन वैदेशिक रोजगार व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले वैदेशिक रोजगारमा गएका श्रमिकसँगै यो व्यवसायमा आबद्ध कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन व्यवसायीलाई अनुरोध गर्नुभयो ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बागबजार क्षेत्रबाट वैदेशिक रोजगारीका नाममा श्रमिक ठगी गर्ने गैर व्यवसायजन्य कार्य बढिरहेको हुँदा मन्त्रालयले त्यसको कडा अनुगमन गर्नुपर्ने बताउनुभयो ।
उद्घाटन समारोहमा मन्त्रालयका सहसचिव राजीव पोखरेल, विभागका पूर्व महानिर्देशक डा. भीष्म भुसाल, वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख पार्वती अर्याललगायत मन्त्रालय मातहतका निकायका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।
भोलिसम्म सञ्चालन हुने गोष्ठीमा वैदेशिक रोजगारका सवालहरू, व्यावसायिक नैतिकता र इमानदारिता एवं बोर्ड सचिवालयको परिचयात्मक जानकारीका विषयमा प्रस्तुति र अन्तरक्रिया हुनेछ ।
कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी सङ्घले प्रकाशन गरेको यस वर्षको क्यालेन्डरको विमोचन पनि गरिएको थियो ।
हाल देशभर ८ सय ९० वटा इजाजत प्राप्त वैदेशिक रोजगार व्यावसायिक संस्थाहरू रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्