तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा ‘उर्वशी सूक्त’ नाटक

पोखरा । पोखरामा आजदेखि नारी शक्तिलाई केन्द्रमा राखी तयार गरिएको नाटक ‘उर्वशी सूक्त’ पोखरा थिएटरको प्रस्तुतिमा मञ्चन सुरु भएको छ । पोखरा थिएटरको गन्धर्व नाटक घरमा वैशाख ११ गतेसम्म मञ्चन हुने थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार बाहेक हरेक दिन साँझ ५ः०० बजे मञ्चन हुनेछ । शनिबार अतिरिक्त दिउँसो १ः०० बजे पनि प्रदर्शन गरिने छ । विद्यार्थीलाई लक्षित गरेर सोमबार दिउँसो २ः०० बजे नाटक मञ्चन गरिने उहाँले जानकारी दिनुभयो ।

नाटकको लेखन तथा निर्देशन शिव सङ्कल्पले गर्नुभएको हो । नाटकमा दिलप्रसाद गुरुङ, शिव सङ्कल्प, रोशन आस्तिक, सुशील बराल, रोशन पोख्रेल, रमेश बाबु तिमल्सिना, दीप्सना विश्वकर्मा, रञ्जु दाहाल, एलिजा बुढाथोकी, धनकाजी श्रेष्ठ, अनुषा परियार, प्रियङ्का खड्का, राजेन्द्र अधिकारी, प्रतीक घिमिरेको अभिनय हेर्न पाइन्छ । मिलन गिरी, देवेन्द्र ढकाल विवेक, खेम लामाको प्रत्यक्ष सङ्गीत रहेको छ ।

नाटकमा शास्त्रीय सङ्गीत, शास्त्रीय नृत्य, केही शास्त्रीय छन्दको प्रयोग गरिनुका साथै वेशभूषा समेतमा सांस्कृतिक र शास्त्रीयताको सम्मिश्रण गरेर देखाउने खोजिएको निर्देशक सङ्कल्पले जानकारी दिनुभयो । नाटकबाट पूर्वीय र परम्परागत नाट्य शैलीको झलक दिन खोजेको उहाँले बताउनुभयो । हालसम्म तीन वटा नाटक लेखेका सङ्कल्पको मञ्चन भएको पहिलो नाटक उर्वशी सूक्त बनेको छ ।

झण्डै डेढ घण्टा अवधिको नाटक हेर्न सर्वसाधारणले रु पाँच सय र तीन सयको टिकट काट्नुपर्ने छ भने विद्यार्थीका लागि रु दुई सयको टिकटको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button