पुनः जीवन जागरण अभियान सुरु
धनकुटा । सुनसान भएको धनकुटाका दुई सहरले नयाँ वर्षसँगै पुनः जीवन जागरण अभियान सुरु गरेका छन् ।
राणा कालमा तत्कालीन पूर्वाञ्चल १६ जिल्लाको प्रशासनिक केन्द्र (धनकुटा गौडा) का रुपमा स्थापित हाल धनकुटा नगरपालिका–५ स्थित तल्लो र माथिल्लो कोप्चे बजारले यो अभियान सुरु गरेको हो ।
कोप्चे पुनःजागरण समितिले ती दुई बजारको सङ्गममा रहेको राणा कालमा स्थापित साप्ताहिक बजार लाग्ने बिहीबारे हटियामा तीन दिने ‘कोप्चे फुट फेस्टिभल’को आयोजना गरेर अभियान सुरुआत गरेको छ । यी वैशाख ३ गतेसम्म सञ्चालन हुने उक्त खाना महोत्सवमा १५ स्टल रहेको आयोजक संस्थाका अध्यक्ष रिजन पोखरेलले जानकारी दिनुभयो ।
कुनै बेला धरान–धनकुटा हुँदै भोजपुर, तेह्रथुम र सङ्खुवासभा जिल्ला जाने प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको यी दुई सहर निकै गुल्जार थियो । तर, विसं २०४० मा कोशी राजमार्गको धरान–धनकुटा–हिले सडक बजारभन्दा बाहिरीबाट गएपछि यी सहर क्रमशः सुनसान बन्दै गएको थियो ।
पछिल्लो समयमा देश सङ्घीयतामा गएपछि कोशी प्रदेशको राजधानी विराटनगर भएपछि यी बजार मृत सहर झैँ सुनसानमा परिणत भएका थिए । यी दुई सहरलाई पर्यटक भित्र्याएर पुनः जीवन दिन विसं २०७४ देखि सबै घरलाई सुन्तला रङले रङ्गाइएको थियो । यसैको निरन्तरतामा फेस्टिभल आयोजना गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
खाना महोत्सव साख गुमाएका सहरलाई फेरि गुल्जार बनाउन सबैलाई जागरूक गराउनका लागि गरिएको धनकुटाका समाजसेवी तथा अभियानकर्ता राजेन्द्र प्रधानले जानकारी दिनुभयो । आजदेखि सुरु भएको दोस्रो चरणको जागरण अभियानअन्तर्गत फेस्टिभलको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले उद्घाटन गर्नुभयो ।
तामाङले यस बजारमा निर्मित राणाकालीन घरमा होमस्टे (घरबास) सेवा सञ्चालन गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्