बाघ संरक्षणका लागि बजेट तर्जुमा गर्न मन्त्री बस्नेतको आव्हान
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दिनमा बाघ संरक्षणका निमित्त नवीनतम कार्यक्रम र बजेट तर्जुमा गर्न आह्वान गर्नुभएको छ ।
यही चैत २६ देखि २८ गतेसम्म भारतले बाघ संरक्षण आयोजना सुरु गरेको ५० औँ वार्षिकोत्सव अर्थात् स्वर्ण जयन्तीका अवसरमा भारतमा आयोजित कार्यक्रममा नेपालका तर्फबाट प्रधानमन्त्री एवं वन तथा वातावरण मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष दूतका रूपमा बोल्दै मन्त्री बस्नेतले उक्त आह्वान गर्नुभएको वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
“मन्त्री बस्नेतले आगामी दिनमा बाघ संरक्षण गर्नका निमित्त बाघ पाइने देश र अन्तर्राष्ट्रिय समुदायलाई स्थानीय समुदायको जीविकोपार्जन कार्यक्रममा सहयोग गर्ने गरी नवीनतम कार्यक्रम र बजेट तर्जुमा गर्न आह्वान गर्नुभएको थियो”, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपालका तर्फबाट प्रधानमन्त्री एवं वन तथा वातावरण मन्त्री दाहालको विशेष दूतका रूपमा ऊर्जा मन्त्री बस्नेतको नेतृत्वमा विभागका महानिर्देशक डा महेश्वर ढकाल लगायतको प्रतिनिधि मण्डलले भाग लिएको थियो ।
सोही अवसरमा मन्त्री बस्नेतले नेपालको धारणा राख्दै नेपाल सरकारले स्थानीय समुदाय, सुरक्षा निकाय र संरक्षण साझेदार संस्थासँग मिलेर साझेदारीमा काम गरेको परिणामस्वरूप सन् २०१० मा एक सय २१ रहेको बाघको सङ्ख्या बढेर २०२२ मा तीन सय ५५ पुगेको जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्