तपाईँ सुन्दै हुनुहुन्छः

मेयर कपको फाइनलमा जनकपुर क्रिकेट टिम, विराटनगर र बाराबिच खेल जारी

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०७९ को फाइनलमा जनकपुर क्रिकेट टिम पुगेको छ । 

जनकपुरधामको रजौलमा बनिरहेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा आज भएको सेमिफाइनल खेलमा सप्तरीलाई जनकपुर टिमले ७ विकेटले पराजित गरेको छ ।  

टस जितेर ब्याटिङ गरेको सप्तरी सबै ओभर खेल्दै ७७ रनको झिनो योगफल तयार पारेका थिए । सप्तरीका लागि अभिशेष थापा अविजित ३४ र रोहन विके १५ बाहेक अन्य कुनै बल्लेवाज जनकपुरधामको बलर अगाडी टिक्न सकेनन् । 

जनकपुर क्रिकेट टिमका हरिशंकर साह २, शरद भेषवाकर २, कृष्ण कार्की २ र विशाल सुशलिङ्ग १ विकेट लिएका थिए । ७८ रनको लक्ष्य सहित खेलमैदानमा उत्रेको जनकपुर क्रिकेट टिमले १४.४ ओभर खेल्दै तीन विकेटको क्षतिमा ७८ रन बनाएर विजयी भएको छ । 

जनकपुरधामको जितमा विशाल सुशलिङ्ग ३८ र हिमांशु दत्त १५ रनको योगदान दिए भने अकवर अली ११ रन जोडे । सप्तरी टिमका बलरहरू विकास दास, राहुल मण्डल र पप्पु यादव एक/एक विकेट लिएका थिए ।  आजको खेलमा जनकपुर टिमका तर्फबाट १ विकेट र ३८ रन जाडेका विशाल सुशलिङ्ग म्यान अफ दी म्याच भएका थिए । 

दोस्रो सेमिफाइनल खेल बाराविरुद्ध कोशी प्रदेशको विराटनगरसँग जारी रहेको छ । नयाँ वर्षको अवसर पारेर फाइनल खेल भोलि हुने कार्यक्रम रहेको जिल्ला क्रिकेट टिमका सदस्य एवं मेयर कप आयोजन समितिका संयोजक सरोज कुमार मिश्रले जानकारी दिनु भयो । 

प्रतियोगितामा विजेता टिमले २ लाख ५१ हजार नगद, शिल्ड तथा प्रमाणपत्र तथा उपविजेता टिमले १ लाख ५१ हजार नगद, शिल्ड तथा प्रमाणपत्र पाउने भएका छन् । 

प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने अन्य खेलाडीहरूलाई पनि पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button