तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगर प्रमुख दाहाल र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेटवार्ता

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र  नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता भएको छ ।

भरतपुर महानगरपालिकामा बिहीबार भएको भेटवार्तामा आपसी हित, दुई देशबीचको सम्बन्ध, भरतपुरसँग भगिनी सम्बन्ध भएका सहर, विकासमा भरतपुर र चीनबीच गर्न सकिने सहकार्यको बारेमा छलफल भएको हो  ।

सो अवसरमा बोल्दै प्रमुख  दाहालले चीन र नेपालको दौत्य सम्बन्ध कायम भएसँगै चीनले नेपालको पूर्वाधार विकास शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा  नेपाली जनताको मन जित्ने गरी  सहयोग पुर्‍याएकोमा भन्दै प्रशंसा गर्नुभयो  ।

सो क्रममा दाहालले महानगरीय मेट्राेरेल, नेपाल चाइनामैत्री पार्क निर्माण चीनको सहयोगमा निर्माणको लागि प्रस्ताव  गर्नुभएको छ ।

उहाँले भरतपुरको विकासमा चिनियाँ प्राविधिक समूह उपलब्ध गराई नमुना महानगर निर्माणको लागि आह्वान समेत गर्नुभयो ।

भरतपुरको शिक्षा, स्वास्थ्य, पर्यटन र अन्य क्षेत्रमा चीनको आवश्यक स्रोत साधनको उपलब्धताले दिगो विकासमा सहयोग पुग्ने प्रमुख दाहालले बताउनुभयो ।

प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा चिनियाँ राजदूत चेनमार्फत चिनियाँ पर्यटकलाई निम्तो पनि दिनु भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत चेनले भरतपुरमा महानगरीय मेट्रोरेल, नेपाल चीनमैत्री पार्क, शिक्षा, स्वास्थ्य लगायतका विषयमा छलफल गरी अगाडि बढ्न सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

राजदूत चेनले भरतपुर भ्रमण वर्ष २०२४ मा चीनबाट बढीभन्दा बढी पर्यटक आउने वातावरण निर्माण गर्ने उल्लेख गर्नुभयो । राजदूत चेनले भरतपुरमा भइरहेको तीव्र विकास निर्माणबारे आफु जानकार रहेको बताउँदै प्रमुख दाहालको प्रशंसा पनि गर्नुभयो । ७ सदस्यीय टोलीसहित भरतपुर आईपग्नु भएको राजदूत चेनले भरतपुरको विकासको बारेमा स्थलगत अवलोकन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button