तपाईँ सुन्दै हुनुहुन्छः

नगरपालिकाका असल अभ्यास बुझ्न नेपालका र सिक्किमका जनप्रतिनिधिहरु नमोबुद्धमा

काभ्रेपलाञ्चोक । नेपालका ७ र सिक्किमका २ समेत ९ स्थानीय तहका जनप्रतिनिधिहरूले नमोबुद्ध नगरपालिकामा भएका असल अभ्यास अवलोकन गर्नुभएको छ ।  नमोबुद्ध नगरपालिका वडा नं २ स्थित पातालको धारो र भागवते पाखाको कुवाका साथै धार्मिक पर्यटकीय स्थल नमोबुद्ध परिसरको अध्ययन अवलोकन गर्नुभएको हो । 

दैलेखको दुल्लु नगरपालिका र नौमुले गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका र छत्रजोरपाटी गाउँपालिका, डोटीको जुरायल गाउँपालिका, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका, रसुवाको गोसाइकुण्ड गाउँपालिका, ललितपुरको गोदावरी नगरपालिका र सिक्किमस्थित हुचेन ताकुतान ग्राम पञ्चायत र सुल्दुङ काम्लिङ ग्राम पञ्चायतबाट जनप्रतिनिधिहरूले भूकम्पपछि सुकेका मुहान कसरी पुनर्भरण भए भन्ने जानकारी लिनुभएको थियो । जमिनलाई रसिलो बनाइराख्न खनिएका ‘रिचार्ज पोखरी’ का कारण पलाएका पानीका श्रोत (मुहान) बारे जनप्रतिनिधिसहितको टोलीले स्थलगत नै जानकारी लिएको हो ।

नमोबुद्ध-२ का इन्द्रबहादुर कुइँकेलले भूकम्प अघि नै सुकेको पातालको धारोको मुहान रिचार्ज पोखरी खनिएपछि फेरी रसाएको बताउनुभयो । ‘भूकम्प आउनुभन्दा केही समय अघि पानीको मुहान सुक्यो, त्यति बेला हामी खानेपानी किनेर ल्याएर गाई बस्तुलाई खुवाएर दूध बेच्यौ,’ कुइँकेलले भन्नुभयो(‘पछि खनिएका रिचार्ज पोखरी, अन्य खाल्डाका कारण पातलको धारो फेरी रसाएको छ ।’ उहाँका अनुसार, अहिले टंयाकीमा दैनिक ३५ सय लिटर जति पानी जम्मा हुने गरेको छ । १७ घरधुरीले दैनिक २ सय लिटरको दरले खानेपानी उपयोग गर्छन् । नमोबुद्ध नगरपालिका वडा नं २ ले मुहान क्षेत्रमा घेराबार र पहुँच मार्ग पनि बनाइदिएको छ । 

इसिमोड र सिप्रेडको सहयोगमा नमोबुद्ध नगरपालिकाले मुहान संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । पानीका मुहान सुक्दै गएपछि नमोबुद्ध नगरपालिकाले सो क्षेत्रका विभिन्न १३ स्थानमा पोखरी खनेको थियो । आ।व २०७८र७९ को भदौ(असोजमा खनिएका पोखरीका कारण जमिन रसाएर मुल फुटेका थिए । 

टोलीलाई नगरपालिकामा स्वागत गर्दै नगर प्रमुख कुनसाङ लामाले मुहान संरक्षण, वातावरण संरक्षणको क्षेत्रमा काम गर्दा प्रतिफल देखिएको भन्दै यसलाई निरन्तरता दिने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले स्थानीय तहबिच हुने यस्ता अध्ययन अवलोकनले स्थानीय तहमा हुने असल अभ्यासको अनुशरण र योजनाको प्राथमिकता निर्धारणमा पनि सहयोग पुग्ने तर्क गर्नुभयो । 

टोलीले प्रसिद्ध धार्मिक पर्यटकीय स्थल नमोबुद्ध परिसर समेत अवलोकन गरेको छ । विभिन्न नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरुसहितको टोलीलाई पर्यटकीय क्षेत्रको विकासको लागि नगरले गरेको प्रयासका बारेमा नगर प्रमुख कुन्साङ लामा, उपप्रमुख रत्नबहादुर लामा लगायतले जानकारी गराउनुभएको थियो । जनप्रतिनिधिहरूले नमोबुद्धमा भएका प्रयासको प्रशंसा गर्दै आन्तरिक पर्यटक भित्राउन आफ्नो पालिकामा पनि प्रचार गर्ने र पुनः टोलीसहित भ्रमण गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button