तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले परिणाममुखी काम गर्नुपर्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले परिणाममुखी काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको उद्घाटन सत्रमा उहाँले काँग्रेससहितको सरकारले अरूलाई दोष दिएर उम्कन नमिल्ने भन्दै परिणाममुखी काम गर्नुपर्ने बताउनुभयो । “वर्तमान सरकारले एमाले र पूर्व राजालाई दोष दिएर उम्कन्न मिल्दैन, पाँच वर्षपछि जनतामाझ जाँदा यो/यो काम गर्‍यौँ भनेर जान सक्ने अवस्था बनाउनुपर्छ, परिणाममुखी काम गर्नुपर्छ”, उहाँले भन्नुभयो । केन्द्र सरकार, प्रदेश सरकार र अधिकांश सरकारको नेतृत्व गरेको काँग्रेसले जनतामाझ काम गरेर देखाउनुपर्ने उहाँको भनाइ थियो ।

महामन्त्री थापाले सङ्घीय शिक्षा ऐन चार महिनाभित्र संसद्बाट पारित गर्नुपर्ने बताउनुभयो । उहाँले सङ्घीय शिक्षा ऐनका लागि आवश्यक सुझाव दिन शिक्षकलाई आग्रह गर्नुभयो ।

‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पूर्वाधार’ भन्ने मूल नाराका साथ सुरु भएको सङ्घको नवौँ सङ्घीय महाधिवेशनमा देशभरबाट सात सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने बताइएको छ ।

विसं २०४७ वैशाखमा स्थापना भएको नेपाल शिक्षक सङ्घले हाल सातवटै प्रदेश, ७७ वटै जिल्ला, सात सय ५३ वटै स्थानीय तह र छ हजार सात सय ४३ वटै वडामा सङ्गठन विस्तार गरिसकेको छ । सोही अवसरमा महामन्त्री थापाले शिक्षक पेशामा रहेर विभिन्न योगदान दिनुभएका शिक्षकलाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button