तपाईँ सुन्दै हुनुहुन्छः

जनताका सुझावका आधारमा पार्टी पुनःनिर्माण गछौँ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

कास्की । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘जनतासँग पार्टी अभियान’ मा प्राप्त सुझावका आधारमा पार्टीको पुनःनिर्माण गरिने बताउनुभएको छ ।

पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले पार्टीका सबै केन्द्रीय सदस्य तथा प्रदेश पार्टीलाई अभियानमा राम्रोसँग परिचालित हुन निर्देशन दिनुभयो ।

गाउँगाउँमा पुगेर जनता, शहीद परिवार तथा बेपत्ताका परिवारबाट सुझाव लिएर जस्ताको तस्तै ल्याउन र पार्टी केन्द्रमा बुझाउन आग्रह गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘हामीले दुई महिनाका लागि अहिले जनतासँग पार्टी अभियान चलाएका छौँ । सबै नेता कार्यकर्ता अभियानमा तलैसम्म खट्नुहोला र जनताबाट सुझाव लिनुहोला । सोही सुझावका आधारमा आगामी दिनमा पार्टी पुनःनिर्माण गर्नेछौँ ।’

उपाध्यक्ष श्रेष्ठले बृहत् समाजवादी मोर्चा गठनका लागि पहल भइरहेको जानकारी दिनुभयो । पार्टी एकताको सम्भावना भएका माओवादी घटक र अन्यसँग एकता गर्दै जाने र तत्काल एकता सम्भव नभएका दलहरूका बीच समाजवादी मोर्चा बनाइने उहाँले बताउनुभयो । गृहमन्त्री श्रेष्ठले जनतालाई विकास र सुशासनको अनुभूति दिने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।

सरकारका कामलाई जनतासम्म लैजान र जनताका विकासका आवश्यकतालाई सरकारसम्म ल्याउन पार्टीका नेता कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो । ‘जनतालाई राम्रोसँग सहज रूपमा सर्भिस डेलिभरी अहिलेको आवश्यकता हो । यसबाट मात्र जनतामा सरकारप्रति विश्वास पैदा हुन्छ’, श्रेष्ठले भन्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button