तपाईँ सुन्दै हुनुहुन्छः

पछाडि परेका वर्गलाई प्राथमिकता नदिए मुलुकले समृद्धि हासिल गर्न सक्दैन : अध्यक्ष ओली 

वीरगंज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछाडि परेका वर्ग, समुदाय र जनजातिलाई शिक्षा, रोजगारको क्षेत्रमा प्राथमिकता नदिए मुलुकले समृद्धि हासिल गर्न नसक्ने कुरामा जोड दिनुभएको छ । 

अखिल नेपाल पिछडा वर्ग महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशनको आज वीरगंजमा उद्घाटन गर्नु हुँदै अध्यक्ष ओलीले भौगोलिक विविधताले भरिपूर्णमुलुक बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिकले भरिपूर्ण रहेको बताउनुभयो । 

उहाँले विविधता बीचको एकता नेपाली विशेषता भएको बताउँदै अबको लडाई गरिबी र विपन्नता विरुद्ध हुनु पर्ने कुरामा जोड दिनुभयो ।

अध्यक्ष ओलीले सामाजिक सद्भाव, राष्ट्रिय एकताबाट मात्रै देशलाई समृद्धिको बाटोमा अगाडी बढाउन सकिन्छ भन्नु हुँदै विगतमा केही शक्तिहरूले राजनीतिक परिवर्तनका लागि हिंसाको बाटो रोजेको र त्यसले मुलुकमा अस्थिरता ल्याएको बताउनु भयो । 

उहाँले धर्म, जाति, वर्ग र समुदायको नाममा राष्ट्रिय एकता खल्बल्याउने छुट कसैलाई नभएको बताउँदै  भौगोलिक, सांस्कृतिक, धार्मिक विविधताले भरिपूर्ण नेपाल संसारकै असाधारण शक्ति भएको देशको रुपमा स्थापित भएको दाबी गर्नुभयो । 

पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले  तराई मधेसको विकासका लागि हुलाकी राजमार्ग मेरुदण्ड सावित भएको बताउँदै अहिले हुलाकी राजमार्गसँग जोडिएका मझौला शहरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजना आफ्नो पालामा ल्याएको बताउनु भयो । 

अध्यक्ष ओलीले तराई मधेसको समृद्धिका लागि ६ लेन र ४ लेनका सडकहरू, सुनकोशी–मरिङ्ग –बागमती डाइभर्सन निर्माण गरी बिजुली उत्पादनसँगै १ लाख ८५ हजार हेक्टर भूमिको सिँचाइका लागि आफ्नो पालामा योजना ल्याएको बताउनु भयो ।

पिछडा वर्गको लडाई आफ्नो वर्ग, समुदायको उत्थानका लागि भएको हुँदा यसमा नेकपा एमालेको सधैँ साथ र समर्थन रहने छ भन्नु हुँदै सङ्गठन सुदृढीकरणका लागि भिड होइन विचारमा सङ्गठित व्यक्तिहरूलाई समेट्न आग्रह गर्नुभयो । 

अखिल नेपाल पिछडा वर्ग महासङ्घका अध्यक्ष तेज प्रकाश निषादको अध्यक्षतामा शुरु भएको अखिल नेपाल पिछडा वर्ग महासङ्घको महाधिवेशनको उद्घाटन सत्रमा पूर्वमन्त्री रघुवीर महासेठ, ज्वाला साह, एमालेका केन्द्रिय सदस्य प्रभु हजरा, राजकुमार गुप्ता, जालिम मिया, निर्मला देवकोटा लगायतको उपस्थिति रहेको थियो । नेकपा एमाले केन्द्रिय कमिटीको संयोजनमा शुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button