तपाईँ सुन्दै हुनुहुन्छः

दुहबीका महिला जनप्रतिनिधिलाई उपेक्षा गरेको भन्दै नगर प्रमुखलाई ध्यानाकर्षण पत्र

सुनसरी । सुनसरीको दुहबी नगरपालिकाका महिला जनप्रतिनिधिलाई उपेक्षा गरेको भन्दै वडा अध्यक्षहरू विरुद्ध ज्ञापन पत्र बुझाएको छ । 

एउटै निर्वाचन प्रक्रियाबाट जितेर आएको भएपनि वडाअध्यक्षहरुले आफूखुसी गर्ने र महिला सदस्यहरूलाई उपेक्षा गरेको आरोप बाहिरिएको बेला दुहबीका महिला सदस्यहरुले नगरप्रमुख वेदनारायण गच्छदारलाई निर्णयमा अर्थपूर्ण सहभागिताको माग सहित ज्ञापन पत्र बुझाएका छन् । 

निर्वाचित महिला वडा सदस्यहरुले सामूहिक रुपमा दुहबी नगरप्रमुख गच्छदारलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएका हुन् । 

नगरप्रमुखको कार्यकक्षमै पुगेर नगरका १२ वटै वडाका महिला वडा सदस्यहरुले वडाको बैठक पारदर्शी गर्नुपर्ने, नेमप्लेट सहित कुर्सीको व्यवस्था गर्नुपर्ने, बैठकमा आफूहरूको उपस्थिति अनिवार्य हुनुपर्ने, हस्ताक्षर मात्रै गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने सहितको माग राखेर ज्ञापन पत्र बुझाएका हुन् ।

वडा अध्यक्षहरूले वडाको संवेदनशील गतिविधि, विकास निर्माण, योजना तथा कार्यक्रम कार्यान्वयनको बारेमा जानकारी नदिने, मासिक बैठकमा हस्ताक्षर गर्न मात्र बोलाउने अवस्था रहेकाले आफूहरूलाई भूमिका विहीन बनाएको गुनासो सहित ज्ञापन पत्र बुझाएका छन् ।

भूमिका विहीन नभई जनप्रतिनिधिको भूमिका निर्वाहमा जिम्मेवारी दिनुपर्ने, महिला वडा सदस्यहरूलाई योजना तर्जुमा सम्बन्धी तालिम दिनुपर्ने, नगरमा महिला वडा सदस्यहरूका लागि महिला जनप्रतिनिधि सञ्जाल कार्यकक्षको व्यवस्था गर्नुपर्ने, बैठक बोलाउँदा कम्तीमा तीन दिन अगावै एजेण्डा सहितको जानकारी पत्र दिनपर्ने लगायतका माग सहित नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएको महिला वडा सदस्यहरूको सञ्जाल संयोजक ललिता चौधरीले जानकारी दिनुभयो । 

सहसंयोजक मिना श्रेष्ठका अनुसार महिला सदस्यहरु नबोलेकोले वडा अध्यक्षहरू एकलौटी गर्न थालेपनि ज्ञापन पत्र बुझाइएको हो । नगरप्रमुख गच्छदारले सबै महिला सदस्यहरूलाई वडाका समस्या सोधेर वडामा रहेको समस्या समाधान गर्ने र महिला सदस्यहरूको सजाललाई आफूले न्यायोचित हुने गरि सघाउने प्रतिबद्धता जनाउनुभयो । नगरप्रमुखले सबै महिला  सदस्यहरूलाई  वडाका समस्या  सोधेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button