सुब्बा र दाहाललाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड
काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहालले वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १७ औँ एनएनआईपीए स्पोर्टस अवार्डमा महिलातर्फ एन्जिला र पुरुषमा प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका हुन् ।
एन्जिला र प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित समान एक एक लाख नगद प्राप्त गरे ।
यस्तै कराँतेकी चञ्चला दनुवार महिलातर्फ र पुरुषतर्फ गल्फका सद्भाव आचार्य प्रतिभाशाली खेलाडी चुनिए । यस विधाका विजेताले जनही ५० हजार प्राप्त गरे ।
सर्वोत्कृष्ट पारा एथलेट अवार्ड शुभेच्छा खतिवडा, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड खड्गबहादुर रानाभाट र उत्कृष्ट खेलकुद पत्रकार पुरस्कार ध्रुव तुलाधरले प्राप्त गरे । पारा अवार्ड विजेताले १५ हजार, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड विजेताले ३५ हजार र खेलकुद पत्रकारिता पुरस्कार विजेताले २५ हजार प्राप्त गरेका छन् ।
ठमेलस्थित एलफ्ट होटलमा आयोजित अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान समेत गरिएको थियो । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठ लगायतले पुरस्कृत गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्