तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल स्थापना दिवस: ‘लु जन्मिहाल, रेडियो दिउँला’

इटहरी। जेठी बुहारीलाई साँझैदेखि व्यथा लागेर रातभरमा पनि सुत्केरी नभएपछि सासूले भन्नुभएछ, ‘लु जन्मिहाल, रेडियो दिउँला ।’ केही बेरमा च्याहाँ च्याहाँ गर्दै छोरो जन्मियो । ताप्लेजुङको तत्कालीन ढुंगेसाँघु गाविस वडा नम्बर २ तेल्लावुङका प्रख्यात होमनाथ पण्डितको पनाति, कान्छा महाजनका आठ भाइ छोरामध्ये जेठा छोराको पहिलो सन्तानको जन्म भएपछि गाउँभरमै खुसीयाली छाएको रहेछ । जन्मनुभन्दा अघि देखिकै रेडियो मोह रहेछ मेरो । हजुरआमाले रेडियो दिन्छु भनेपछि जन्मिएकाले केही वर्षपछि नै बुबाले नेशनल पानासोनिक रेडियो किनिदिनुभयो । त्यो बेला गाउँका सीमित घरमा मात्र रेडियो थियो । रेडियो राख्न पनि लाइसेन्स चाहिन्थ्यो । हाम्रो घरमा त्यो नेशनल पानासोनिक रेडियोको लाइसेन्स अझै पनि छ । त्यो रेडियो चाहिँ केही वर्षअघि बिग्रियो ।

शङ्ख ध्वनिदेखि रातिसम्म बज्थ्यो रेडियो

बिहान ५ बज्नुअघि नै बुबाले रेडियो खोलेर घर बाहिर सिकुवाको काँटीमा झुण्डयाउनुहुन्थ्यो । रेडियो नेपालमा बजेको शङ्ख ध्वनिसँगै हाम्रो निन्द्रा खुल्थ्यो । अहिले पनि रेडियो नेपालको बिहानी शङ्ख ध्वनि उत्तिकै प्रिय लाग्छ । त्यसपछि धार्मिक कार्यक्रम, ७ बजेको समाचार, ८ बजे अङ्ग्रेजी समाचार, विज्ञान तथा प्रविधि कार्यक्रम, मानव अधिकार रेडियो शिक्षा कार्यक्रमलगायत बिहानभर काम गर्दै, पढ्दै, जे गर्दै भए पनि रेडियो चाहिँ सुनेकै हुन्थ्यो । दिनभर त स्कुल गइन्थ्यो । हतार हतार फर्केर आएपछि बाल कार्यक्रम कहिल्यै छुट्दैनथ्यो ।

‘साना साना बाबुनानीहरु रेडियो नजिक आओ’, वासुदेव मुनालले बाल कार्यक्रममा नबोलाई रेडियो नजिक पुगिन्थ्यो । त्यसपछि कृषि कार्यक्रम बुढी आमैलाई खूब मनपर्ने । ७ बजेको समाचार, घटना र विचार, शनिबार बज्ने साङ्गीतिक कार्यक्रम चौतारीमा गीत सुन्न कम्ता मज्जा हुन्थेन । बीबीसीसम्म नछुटाई सुनिन्थ्यो । अनि सुतिन्थ्यो । शनिबार दिउँसोको रेडियो नाटक त छुटाउने कुरै भएन ।

दाजुले पेजकसले रेडियो खोलेपछि झण्डै बाघ भालु निस्केका

मध्य असारको बेला झमझम पानी परिरहेको थियो । पहाडको ठाउँ आमै घर मुन्तिर टारी खेतमा धान रोपाइँ हुँदै थियो । घुम ओढेर हिल्याउने हिल्याइरहेका थिए, रोपाहारहरू असारे गीत गाउँदै धान रोप्दै थिए । बाउसे रोपाहारसँग जिस्कँदै हिलो छ्याप्दै बाउसे लगाउँदै थिए । घरको सिकुवामा एउटा पाँच वर्षको बालक रेडियो नेपाल सुनेर बसेको थियो । शनिवारको दिन थियो, रेडियोमा नाटक सुरु भयो । रेडियोभित्र धेरै मान्छेहरू, मान्छेहरू मात्र होइन, कुकुर, बाघ, भालु पनि कराएको सुन्यो । त्यो बालकलाई अचम्म लाग्यो । यति सानो रेडियोभित्र मान्छेहरू, कुकुर, बाघ, भालु, हात्ती कसरी अटेका होलान् । दाजु रोपाइँबाट कोदाली लिन घरमा आउनुभयो । भन्नुभयो- ‘के गर्दै छस् केटा ?’

केटाले भन्यो रेडियो सुन्दैछु । दाजु यो सानो रेडियोभित्र मान्छेहरू, कुकुर, बाघ, भालुहरू कसरी अटेर बसेका छन् रु दाजुलाई पनि जिस्क्याउन मन लाग्यो । भन्नुभयो- ‘साना साना भएर बस्छन् भित्र बस्दा । बाहिर निस्के भने ठूला भइहाल्छन् । बालकले पत्याएन । भन्यो- ‘हैन होला ।’

दाजु- हो हो किन नहुनु ! ?

बालक- हैन होला ?

दाजु- पत्याइनस् ?

साँच्ची पत्याइनस् केटा रु अब रेडियो खोल्दिन्छु, खोलेपछि मान्छे मात्र निस्कँदैन है, अघि कराएका कुकुर, बाघ, भालु, हात्ती सबै निस्किन्छन् । म त कुदेर ऊ त्यो सुन्तलाको बोटमा चढिहाल्छु । तँ चढ्न सक्दैनस् अनि भेट्छस् । यति भनेर दाजुले त भित्रबाट पेचकस ल्याएर रेडियोको पेच खोलेर त्यहाँका मान्छे, जनावर निकाल्न पो थाल्नुभयो । अनि बालक डरायो । रुन थाल्यो । त्यही बालक दुई दशकदेखि रेडियोभित्र पसेको पसेयै छ । दुई दशकदेखि सप्तकोशी एफएम इटहरीमा कार्यरत छ । अहिले तपाईँ त्यही बालकले रेडियो नेपालको स्थापना दिवसका अवसरमा लेखेको लेख पढ्दै हुनुहुन्छ ।

घरैमा आइपुग्यो काठमाडौँदेखि रेडियो

रेडियोका कार्यक्रम सुनेर पत्राचार पनि गर्न थालियो । विज्ञान तथा प्रविधि कार्यक्रममा बुबा र कान्छा काका पत्र पठाउनुहुन्थ्यो । पानीमा सानो सियो डुब्छ । तर, ठूलो पानीजहाज डुब्दैन किन ? हामीले ऊ बेला पठाएको प्रश्नको जवाफ सुन्दा कम्ता मजा आएको होइन । म बाल कार्यक्रममा पत्र पठाउँथे । त्यो बेला रेडियो नेपालमा बिहान मानव अधिकार रेडियो शिक्षा कार्यक्रम बज्थ्यो । मानव अधिकार नानी र मावली काका नामक नाटक पनि बज्थ्यो । मनोज गजुरेल मावली काका हुनुहुन्थ्यो । कुरा गरे कुरैको दुःख थेगो थियो । त्यो कार्यक्रम नियमित सुन्थे । पत्र पनि पठाउँथे । रेडियोमा आफ्नो नाम आएको दिन आहा ! के के न भइयो जस्तो लाग्ने ।

एक दिन तेम्बे स्कुलमा मलाई खोज्दै अपरिचित मान्छेको फोन आएछ । भोलिपल्ट फोन गर्न गएँ । जिल्ला सदरमुकामदेखि अपरिचित मान्छेले फोनमा भन्नुभयो- ‘तपाईँको नाममा रेडियो आएको छ । घरैमा ल्याइदिन्छु, कहाँनेर पर्छ घर ?’ मैले भने बागधारा मास्तिर । ऐ १ लु मलाई थाहा भयो भन्नुभयो । केही दिन पछाडि रेडियो घरैमा ल्याइदिनुभयो । मेरै अध्यक्षतामा मानव अधिकार रेडियो स्रोता क्लब गठन पनि भयो । यो क्लब देशभरमै उत्कृष्ट भयो । कार्यक्रम सञ्चालक संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले क्लब र मलाई उत्कृष्ट ग्रामीण अधिकार कार्यकर्ताका रुपमा काठमाडौँमा बोलाएरै सम्मान गरेको थियो । म पत्रकारभन्दा पहिला त मानव अधिकार कार्यकर्ता पो रहेछु । ती रेडियो ल्याइदिने व्यक्ति तत्कालीन इन्सेक जिल्ला प्रतिनिधि धनेन्द्र मादेन हुनुहुन्थ्यो । उहाँ जिल्ला समन्वय समिति ताप्लेजुङको निवर्तमान सभापति हुनुहुन्छ ।

क्याम्पस बङ्क गरेर रेडियोमा फोन

रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रबाट नमस्ते पूर्वाञ्चल भन्ने साङ्गीतिक कार्यक्रम बज्थ्यो । सो कार्यक्रममा गीत फर्माइस गर्न २ घण्टाअघि नै फोन गर्नुपर्थ्यो । मोबाइल सेवा थिएन । उर्लाबारी क्याम्पस मोरङ पढ्दै गर्दाको कुरा हो, कक्षा छाडेर सो कार्यक्रममा गीत फर्माइसका लागि फोन गर्न नजिकैको हुलाक कार्यालय गइन्थ्यो । फोन गरेर नाम टिपाइन्थ्यो । भरे कार्यक्रममा नाम बज्दा खुशी होइन्थ्यो ।

अझै छोड्नुहुन्न बुबा रेडियो


बुबा ७४ वर्ष पुग्नुभयो । अझै नियमित रेडियो सुन्नुहुन्छ । बुबाको झोलामा रेडियो कहिल्यै टुट्दैन । नियमित रुपमा समाचार सुन्नुहुन्छ । सप्तकोशी एफएममा बज्ने कुनै समाचार बुलेटिन छुटाउनुहुन्न । बिहान रेडियो नेपालको शङ्ख ध्वनि सुन्दै बुबाको दैनिकी सुरु हुन्छ । रेडियो नेपालका समाचार सुन्नुहुन्छ । रेडियोका नियमित श्रोतामध्येका एक हुनुहुन्छ हाम्रो बुबा । २०४२ सालमा लाइसेन्ससहित रेडियो किनेदेखि अहिलेसम्म नियमित रेडियो सुन्दै आउनुभएको छ ।
साभार: नेपाल प्रेस डट कम

प्रतिक्रिया राख्नुहोस्

Back to top button