सरकारबाट प्राप्त जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्न नेपाली सेना कटिबद्ध : प्रधान सेनापति शर्मा

बर्दिबास । प्रधान सेनापति प्रभुराम शर्माले विपद् व्यवस्थापन, शान्ति सुरक्षा, विकास निर्माणलगायत सरकारबाट प्राप्त जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्न नेपाली सेना कटिबद्ध रहेको बताउनुभएको छ ।
महोत्तरीको बर्दिबासस्थित मध्य पूर्वी पृतना हेडक्वाटरमा भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै उहाँले सेना बलियो भएमा मुलुकको राष्ट्रिय सुरक्षा र हितको संरक्षण हुने बताउनुभयो ।
प्रधान सेनापति शर्माले नेपालको स्वतन्त्रता सार्वभौम सत्ता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको संविधान प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।

सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले अवकाश प्राप्त सैनिक एवं पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिप्रति लक्षित सम्मेलनले विभिन्न दर्जा, युनिट र स्थानमा तैनाथ रही योगदान पु¥याएका पूर्वसैनिकको पुनर्मिलनको ठूलो अवसर प्रदान गरेको बताउनुभयो ।
नेपाली सेनाको व्यवस्थापन तथा सैनिक कल्याणकारी बोर्डको संयोजकत्वमा भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना गरिएको ‘भूतपूर्व सैनिक सम्मेलन, २०७९’ महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा स्थायी बसोबास गर्ने करिब दुई हजार भूपू सैनिकको सहभागिता रहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ जना रहेको छ ।

सम्मेलनमा भूपू सैनिकका प्रतिनिधिद्वारा मार्च, झाँकी प्रदर्शन, राष्ट्रिय गीतमा सामूहिक नृत्य, पिटी र सैनिक ब्यान्ड प्रदर्शन, ज्येष्ठ सैनिक सम्मान, ‘ह्वील चियर’ तथा बैसाखी वितरण, चारभन्दा बढी सन्ततिलाई सेनामा प्रवेश गराउने आमा÷बाबुलाई सम्मान, शताब्दी पुरुष /महिला सम्मान र अन्तर्क्रिया आयोजना गरिएको थियो ।
सम्मेलनबाट सैनिक नेतृत्वले विभिन्न स्थानमा पुगेर पूर्वसैनिक एवं तिनका परिवारसँग अन्तर्क्रिया गर्ने हुँदा सेनाले आफ्ना हिताधिकारीको कल्याणका लागि गरिरहेका प्रयासको मूल्याङ्कन तथा भावी योजना तर्जुमा गर्न महत्वपूर्ण सुझाव प्राप्त हुने नेपाली सेनाले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्