तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल श्रोताको पहिलो रोजाइको रूपमा स्थापित हुन सक्नुपर्छ : अध्यक्ष राउत

काठमाडौँ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) का अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले रेडियो नेपाल सम्पूर्ण श्रोताको पहिलो रोजाइको रूपमा स्थापित हुन सक्नुपर्ने बताउनु भएको छ ।

रेडियो नेपालको ७३ औँ  स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले आगामी दिनमा रेडियो नेपालले आफ्नो प्रसारण सेवालाई अझ बढी परिष्कृत बनाउँदै सम्पूर्ण श्रोताको पहिलो रोजाइको रूपमा स्थापित हुन सकोस् भन्दै शुभकामना व्यक्त गर्नु भएको हो ।

साथै रेडियो नेपाल प्रसारण क्षेत्रको जननी भएको र आधुनिक इतिहासका सबै कालखण्डको साक्षीको रूपमा विगत ७२ वर्षदेखि रेडियो कार्यक्रम, समाचार तथा मनोरञ्जन सामग्री प्रसारण गर्दै आइरहेको बताउँदै नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरूप बढीभन्दा बढी श्रोतामाझ तथ्यपरक सूचना र समाचार पुर्‍याउन रेडियो नेपालले गरेको प्रयासको सराहना समेत गर्नुभयो । 

देशभर ९१ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा रेडियो नेपालको पहुँच पुगेको, नेपालमा बोलिने विभिन्न २१ भाषामा समाचार र २० भाषामा कार्यक्रम सञ्चालन गर्दै आएको रेडियो नेपालले अल्पसङ्ख्यक, पिछडिएका, आदिवासी, जनजातिसहित सबै नेपालीको रुचि र माग अनुरूपका प्रसारण सामग्रीका माध्यमबाट समाज परिवर्तनमा समेत सकारात्मक भूमिका खेलेको उहाँले बताउनुभयो । 

सूचना प्रविधिको युगमा आफूलाई थप व्यावसायिक बनाउनका लागि रेडियो नेपालमा रहेका पुराना गीत सङ्गीत तथा श्रव्य सामग्रीहरूलाई डिजिटल प्लेटफर्ममा राखी बजारीकरण मार्फत् थप आय आर्जन गर्दै नेपाली गीत सङ्गीतलाई विश्व समक्ष पुर्‍याउनु जरुरी रहेको उहाँको भनाई छ । त्यसैगरी आफ्नो प्रसारण पहुँच वृद्धि गर्न डिजिटल प्रसारण प्रविधिको समेत प्रयोगलाई बढावा दिँदै प्रतिस्पर्धी रेडियो प्रसारक बन्न रेडियो नेपाल सक्षम हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button