तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्रमा सुधार ल्याउन परिसङ्घको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसङ्घले नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतलाई अर्थतन्त्र सुधार ल्याउन आग्रह गरेको छ । परिसङ्घको टोलीले आज अर्थमन्त्री डा महतलाई भेटेर मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको हो ।

परिसङ्घले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव अर्थमन्त्रीलाई दिएको छ । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले हालको चुनौतीपूर्ण अर्थतन्त्रमा तत्काल सुधार ल्याउन ब्याजदर घटाइनुपर्ने, तरलता सहज गराइनुपर्ने एवं लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

परिसङ्घले ब्याजदर घटाउन एवं तरलताको स्थिति सहज बनाउन क्यास रिजर्भ रेसियो (सीआरआर) तीन प्रतिशतमा झारिनुपर्ने, बैङ्क दर घटाइनुपर्ने, बैङ्क तथा वित्तीय संस्थामा रहेको स्थानीय तहको सञ्चित कोषमा भएको मौज्दात रकमको सत् प्रतिशत निक्षेपको रुपमा गणना गर्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

मुद्दती खाता र बचत खाताको ब्याजदरको अन्तर अधिकतम पाँच प्रतिशत हुने व्यवस्था हटाउनुपर्ने, शेयर बजार तथा घरजग्गामा जाने मार्जिन ल्यान्डिङमा जोखिम भार १०० प्रतिशतमा झारिनुपर्ने सुझाव पनि परिसङ्घले दिएको छ । निर्माण क्षेत्रमा दिनुपर्ने भुक्तानी छिटो निकासा गराउन पनि परिसङ्घले सुझाव दिएको छ । यसले बजारमा तरलता बढाउन सहयोग पुग्नेछ ।

भेटमा अर्थमन्त्री डा महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले सकारात्मक वातावरण सिर्जना गर्न लागिपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button