‘नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्ने’
काठमाडौँ । राजनीतिक दलका नेताहरूले नागरिकता विधेयक जतिसक्दो छिटो ल्याएर पास गरी नागरिकताको समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।
मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले आज आयोजना गरेको ‘नागरिकता विधेयकमा राजनीतिक दलको दृष्टिकोण’ विषयक कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले चाँडोभन्दा चाँडो नागरिकतासम्बन्धी विधेयक ल्याएर पास गर्नुपर्ने बताउनुभयो ।
नागरिकता संवेदनशील र महत्वपूर्ण विषय भएको हुनाले कुनै पनि नागरिक नागकिताविहीन हुनुपर्ने अवस्था राज्यले बनाउन नहुनेमा जोड दिँदै काँग्रेस यसप्रति प्रतिबद्ध भएको उहाँको भनाइ थियो ।
नेकपा (एमाले)का नेता ऋषिकेश पोखरेलले नागरिकताको विषयलाई राजनीतिक विषय नबनाइकन राष्ट्रिय मुद्दा बनाएर नागरिकताको समस्या समाधान गर्नुपर्ने बताउनुभयो । एमाले कुनै पनि नागरिकलाई अनागरिक बनाउन हुँदैन भन्ने विषयमा गम्भीर भएको र सबै दलहरू मिलेर राष्ट्रिय सहमतिबाटै नागरिकताको विषयलाई निष्कर्षमा पुर्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नेपालका नागरिक यो वा त्यो कुनै पनि कारणले नागरिकताविहीन हुन नहुने विषयमा पार्टी प्रतिबद्ध भएको र छिटो विधेयक ल्याएर पास गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनता पार्टीका नेता रञ्जु ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र जनमत पार्टीका प्रमुख सचेतक अनिता शाहले पनि नागरिकता नेपालीको मौलिक अधिकार भएको हुनाले नागरिकलाई नागरिकताविहीन बनाउन नहुने धारणा राख्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्