‘शिक्षामा सुधार ल्याउन परीक्षालाई मर्यादित बनाउन जरुरी’
जनकपुरधाम । मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले शिक्षाको अवस्थामा सुधार ल्याउनका लागि परीक्षालाई मर्यादित बनाउनुको विकल्प नभएको बताउनुभएको छ ।

मधेश प्रदेशका ८ जिल्लाका सुरक्षा निकायसँग एसइई परीक्षा २०७९ सवाल तथा व्यवस्थापनसम्बन्धी सुरक्षा निकायका प्रमुखसँग जनकपुरधाममा आयोजित अन्तरक्रियामा मन्त्री यादवले मधेश प्रदेशका ४ जिल्ला साक्षरताको दृष्टिकोणमा सबैभन्दा पछि पर्नु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले अब कुनै पनि परीक्षामा नक्कल गर्न नदिइने बताउनुभयो ।
उहाँले सम्बन्धित पालिकाका प्रमुख, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक नेता तथा विद्यार्थीलाई यस विषयमा जानकारी गराउँदै आउँदो १७ गते देखि हुन लागेको एसइई परीक्षालाई पूर्ण मर्यादित रुपमा सम्पन्न गराउन सुरक्षा निकायलाई निर्देशन सहितको आग्रह गर्नुभयो ।

मधेश प्रदेशका प्रमुख सचिव कृष्ण बहादुर कटुवालले हालै सम्पन्न भएको जनगणनामा मधेश प्रदेशका ४ जिल्ला साक्षरताको दृष्टिकोणले मुलुकमा नै पछाडि परेको तथ्याङ्क आएको बताउँदै प्रदेशमा गुणस्तरीय शिक्षा आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा ८ वटै जिल्लामा एसइई परीक्षाका लागि हालसम्म भएको तयारी, सुरक्षा व्यवस्था, चुनौती र गर्नुपर्ने कामको विषयमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जानकारी दिँदै परीक्षालाई पूर्ण रुपमा मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस वर्षको एसइई परीक्षामा मधेश प्रदेशबाट ७९ हजार ९२ जना विद्यार्थी सहभागी हुँदै छन् । जसका लागि प्रदेशका ८ जिल्लामा २ सय ७६ वटा केन्द्र तोकिएका छन् ।







प्रतिक्रिया राख्नुहोस्