सबै एकै ठाउँमा उभिएर नागरिकका चिन्तालाई सम्बोधन गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले जनअपेक्षाअनुरूप संसद्, सरकार र प्रतिपक्ष सबै एकै ठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधन गर्न अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशको सबल अर्थतन्त्रका लागि फजुल खर्च कटौती गरी राजनीतिक सहमति कायम गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
नेकपा(एमाले)का नेता रघुजी पन्तले राष्ट्रपति संस्थालाई विवादमा ल्याउन नहुने भन्दै राष्ट्रपतिलाई सल्लाहकार होइन विज्ञ मात्र आवश्यक रहने बताउनुभयो ।
नेकपा(माओवादी केन्द्र)का सांसद दुर्गा राईले कोशी प्रदेश नामाकरण विरोधको प्रदर्शनकारीसँग वार्ता र संवाद गरी समस्याको समाधान गर्न माग गर्नुभयो ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले प्रतिनिधिसभा नियमावली पारित गरेर संसदीय समिति गठनको विषय उठान गर्नुभयो ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले मुलुकमा रोजगारीका अवसर नहुँदा कामको खोजीमा लाखौँ युवा बिदेसिन बाध्य भएको भन्दै रोजगारीका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग माग गर्नुभयो ।
जनता समाजवादी पार्टी नेपालका सांसद नवलकिशोर साह सुडीले किसानले राज्यबाट उचित राहत पाउन नसकेको भन्दै समयमा नै मल, बिउँ लगायतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले बझाङका भूकम्प पीडित र बेमौसमी वर्षा लगायतका प्राकृतिक विपद्बाट पीडित बनेकालाई समयमा नै क्षतिपूर्ति र राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।
यसैगरी, जनमत पार्टीका सांसद डा. चन्द्रकान्त राउतले संविधानमा राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक जना महिला हुनुपर्ने भावना रहेपनि उपराष्ट्रपतिको निर्वाचनमा महिलाको प्रतिनिधित्व हुन नसकेको प्रति गुनासो व्यक्त गर्नुभयो ।
नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठले राज्यका निकायको काम गर्ने शैली सन्तोष जनक नरहेको आरोप लगाउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सिमामा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न खुला सिमानालाई व्यवस्थित गर्न सररकासँग माग गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्