तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सरकारका दुई मन्त्रीद्वारा राजीनामा

पोखरा । गण्डकी प्रदेश सरकारका दुई जना मन्त्रीले राजीनामा दिनुभएको छ । 

नेकपा माओवादी केन्द्रबाट प्रदेश सरकारमा सहभागी हुनुभएका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले आज मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाउनुभएको हो । 

पुस २५ गते एमाले संसदीय दलका नेता अधिकारीको नेतृत्वमा बनेको सरकारमा माओवादीबाट दुई मन्त्री सरकारमा सहभागी हुनुभएको थियो । 

माओवादी केन्द्र प्रदेश संसदीय दलको आज बसेको बैठकले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । 

माओवादीले मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी आजै संसद्लाई जानकारी दिने तयारी गरेको छ । 

माओवादी सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको औपचारिक जानकारी संसद् सचिवालयलाई गराएपछि मुख्यमन्त्री अधिकारीले पुनः विश्वासको मत लिनुपर्ने हुन्छ  । माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री अधिकारीले १ महिनाभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने हुन्छ ।

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसद आवश्यक पर्छ । 

गण्डकीमा काँग्रेसको २७, एमालेको २२ माओवादीको ८ र राप्रपाको २ सिट रहेको छ । मनाङबाट सर्वसम्मत स्वतन्त्र सांसद बन्नुभएका राजीव गुरुङ (दिपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएसँगै गण्डकीमा नेकपा एकीकृत समाजवादीको पनि प्रतिनिधित्व छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button