स्ववियु निर्वाचन : कञ्चनपुरका १६ मध्ये ६ क्याम्पसमा मतदान जारी

कञ्चनपुर । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा जारी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत अहिले मतदान जारी छ ।
त्रिभुवन विश्वविद्यालयसहित सुदूरपश्चिम विश्वविद्यालय र शारदा संस्कृत विश्वविद्यालयले पनि स्ववियु निर्वाचनको तयारी गरेका थिए । तर कञ्चनपुरका १६ वटा क्याम्पसहरू मध्ये ६ वटा क्याम्पसहरूमा मात्र निर्वाचन भइरहेको छ ।
स्ववियु निर्वाचनको तयारी गरेका कञ्चनपुरका १६ क्याम्पस मध्ये विद्यार्थी सङ्गठनबीच विवाद हुँदा ९ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।
महाकाली बहुमुखी क्याम्पस बेलौरी, रामपुर क्याम्पस कलकत्ता बेलौरी, रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी, जनता बहुमुखी क्याम्पस पुनर्वास, कञ्चन बहुमुखी क्याम्पस गुलरिया कृष्णपुर र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारी मात्रै चुनाव हुँदैछ ।
दानेश्वरहरी बहुमुखी क्याम्पस जिमुवामा भने यसअघि नै निर्विरोध रूपमा स्ववियु समिति चयन भइसकेको छ । अन्य ९ क्याम्पसहरूमा भने विद्यार्थी संघ सङ्गठनहरूले गरेको तालाबन्दीका कारण चुनाव अनिश्चित बनेको छ ।
स्ववियु निर्वाचनमा विद्यार्थी उत्साहित भएर मतदान प्रक्रियामा सहभागी भएका छन् । बिहानैदेखि विद्यार्थी लाइनबद्ध भएर मतदानमा सहभागी भएका छन् । मतदानका लागि सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।
सभापति, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।








प्रतिक्रिया राख्नुहोस्