बागमती प्रदेशका मुख्यमन्त्री जमरकट्टेलले चैत ८ गते विश्वासको मत लिनुहुने
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल यही चैत ८ गते विश्वासको मत लिने हुनुभएको छ ।
प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जमरकट्टेल प्रदेशसभा मार्फत विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्री जमरकट्टेल विश्वासको मत लिने व्यवस्थापन गर्नका लागि प्रदेश सभा सचिवालयले बुधबार दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राप्रपा, एकिकृत समाजवादी, हाम्रो नेपाली पार्टी लगायतका दलका सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । तर, केही हप्ताअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी भएका आफ्ना ३ जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।
गत पुस २६ गते बागमती प्रदेशमा मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । कुनै दलले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको एक महिना भित्रमा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था अनुसार उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । तर, यस पटक नेकपा एमालेले मुख्यमन्त्री जम्मरकट्टेललाई विश्वासको मत नदिने सङ्केत गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्