‘ए’ डिभिजन लिग फुटबल : सातदोबाटो यूथ क्लब शीर्षस्थानमा
काठमाडौँ । सातदोबाटो यूथ क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
च्यासल खेल मैदानमा आज भएको खेलमा एफसी खुमलटारलाई २–१ गोलअन्तरले हराउँदै सातदोबाटो शीर्षस्थानमा उक्लिएको हो । सातदोबाटोको जितमा दीपकसिंह ठकुरी र सर्डोरबेक मतमुरातोभले एक–एक गोल गरे ।
यता खुमलटारका लागि राजीव लोप्चनले एक गोल फर्काए । खेलको १३ औँ मिनेटमा सर्डोरबेकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाए । खेलको २५ औँ मिनेटमा दीपकले गोल गर्दा सातदोबाटो २–० ले अघि रह्यो । त्यसपछि खेलको ६३औँ मिनेटमा खुमलटारका राजीवले एक गोल फर्काए पनि सातदोबाटो विजयी भयो ।
सातदोबाटोले पाँच खेलमा १२ अङ्क जोडेको छ । समान पाँच खेल नै खेलेको खुमलटारको छ अङ्क छ ।








प्रतिक्रिया राख्नुहोस्