तपाईँ सुन्दै हुनुहुन्छः

“मधेश पर्यटन” प्रसारणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

जनकपुरधाम । मधेश प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालय र रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र बर्दिबासबिच प्रसारण हुने “मधेश पर्यटन” सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विशाल घिमिरे तथा रेडियो नेपालका प्रादेशिक प्रसारण केन्द्रका कार्यालय प्रमुख, उप निर्देशक रामपुकार रामले हस्ताक्षर गर्नुभयो ।

रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्रबाट प्रत्येक हप्ताको बिहीबार २ः२५ देखि २ः५५ सम्म कार्यक्रम प्रसारण हुने प्रादेशिक प्रसारण केन्द्रका प्रमुख रामले जानकारी दिनुभयो ।

कार्यक्रममा मधेश प्रदेशको पर्यटन, उद्योग तथा वन क्षेत्रको विकास र उन्नतिमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम प्रसारण हुने भएको छ । यसले मधेशको धार्मिक पर्यटन, पर्यावरणसम्बन्धी पर्यटन, वन तथा उद्योगको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव विशाल घिमिरेले मधेश प्रदेशमा पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएको बताउँदै ओझेलमा परेको पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनमा कार्यक्रमबाट टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच मन्त्रालय र रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्रबाट “मधेश पर्यटन” प्रसारणसम्बन्धी समझदारी भएकोमा शुभकामना दिँदै मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवले समझदारीबाट प्रदेशको पर्यटन क्षेत्रको विकास तथा आम जनतालाई थप जानकारी प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button