तपाईँ सुन्दै हुनुहुन्छः

चिल जस्तै उड्ने सपना बोकेर वालिङ झरेकी सनसरी

स्याङ्जा।विसं २०५३ सालको चैत्रमा चिलजस्तै उड्ने सपना लिएर वालिङ झरेकी सनसरी एसकेको जीवनमा साँचिनै उडान भरिएको छ । ४ वटा स–साना बालबच्चाको पालन पोषण सहित उनीहरुलाई राम्रो शिक्षा दिने सपना सहित वालिङ झरेकी सनसरी २५ वर्षको उमेरमा एकल महिला हुन पुग्नुभयो ।

सनसरी सम्झनुहुन्छ, ‘आजभन्दा २६ वर्ष पहिले गाउँमै हुँदा दाउराको भारी बोकेर म चौतारीमा बस्दै थिए मेरो आँखा उडेको चिलमा पुग्यो अनि अनायासै म पनि यस्तै उड्न पाए हुन्थ्यो मेरा छोराछोरीलाई पेटभरी खाना, लाउन, पढाउन पाए हुन्थ्यो भन्ने सोँच आयो अनि वालिङ झर्ने निधो गरे ।’

श्रीमानको निधन पछि चार छोराछोरीको जिम्मेवारी सनसरीको काँधमा प¥यो । वालिङ झरेको शुरुका दिन नसरी खोलामा गिट्टी बालुवा चाल्ने काम गर्नुभयो । तत्कालीन अवस्थामा तिम्रो छोराछोरी धेरै रहेछन् भनेर वालिङका केही व्यक्तिहरूको घरबाट समेत खाना लगेर छोराछोरीलाई खुवाएको सनसरीको मष्तिकमा ताजै छन् । वालिङ झर्दा सनसरीसंग मात्रै दुई मानो आटो (मकैको पिठो) सहित चार छोराछोरी थिए ।

केही समय खोलामा काम गरेकी सनसरी २०५८ सालतिर वालिङ नगरपालिकामा प्रवेश गर्नुभयो । ७ महिना जति सनसारी बाटो बढारर्ने काम समेत गर्नुभयो । त्यसपछि नगरपालिकाकै सरसफाइको गाडीमा समेत हिँड्नुभयो । गहभरी आँसु पार्दै सनसरी भन्नुहुन्छ । ‘वालिङ नगरपालिकाका सरहरूले धेरै सहयोग गर्नुभएको छ । नगरपालिकामा काम गर्नुस् पछिका लागी राम्रो हुन्छ भनेर सरहरूले भन्नुभयो ।

त्यति बेला तथा तलब ७ सय थियो । खोलाको आम्दानी भन्दा कम थियो तर छोराछोरीका लागी राम्रो होला भनेर काम गर्न थालेँ ।’
काम गर्दा गदै सनसरीलाई फुल तथा बगैँचाको काम गर्ने अवसर मिल्यो । बिस्तारै उहाँलाई नगरपालिकामा मालीको जिम्मेवारी थपियो । नगरपालिका परिसरमा सुन्दर फुलका बगैँचा हुन थाल्यो । अहिले पनि सनसारी नगरपालिकामै मालीको काम गर्दै आउनुभएको छ ।

उहाँको यो कामले अहिले सनसरीलाई उद्यमी बन्न अभिप्रेरित गरेको छ । विगत ३ वर्षदेखि सनसरीले वालिङ नर्सरी उद्योग सञ्चालन गरेर स्याङजा तथा जिल्ला बाहिर समेत फुल तथा फलफूलका बिरुवाको कारोबार गर्दै आउनुभएको छ । तत्कालीन कालिकाकोट गाविसको सिर्कोटबाट दुई माना पिठो बोकेर झर्नुभएकी सनसरीको वालिङमा आफ्नै घर छ । दुई छोराले देश तथा विदेशमा बसेर कमाइरहेका छन् । दुई छोरीको विवाह पश्चात् आफ्नै सुखी परिवार छन् । चिलजस्तै उड्ने सपना लिएर वालिङ आउनुभएकी सनसरीलाई वालिङले सफलताको उडान भरिदिएको छ । यो उडान सनसरीको मेहेनत विना पक्कै सम्भव थिएन ।

अहिले झण्डै एक रोपनी जग्गा भाडामा लिएर नर्सरी उद्योग सञ्चालन गर्दै आउनुभएकी सनसरीले सबै खर्च कटाएर ३० हजार बचत गर्दै आउनुभएको छ । नगरपालिकामा दिने समय बाहेक अन्य समय उहाँले उद्योगमा खर्चँदै आउनुभएको छ । उहाँको नसरीमा विभिन्न प्रजातिका फलफूल तथा ५० प्रजातिका फुल तथा प्लान्टहरू पाइन्छन् । फुल खेती सम्बन्धी तालिम समेत लिनुभएकी सनसरीको संर्घषपछिको यो सफलताले जो कोहीलाई पनि प्रेरित गरेको छ । वालिङ नगरपालिकामा उत्कृष्ट कर्मचारीको रुपमा समेत उहाँ दुई पटक सम्मानित भइसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button